कुनै समय वर्षमा चारपटक हुन्थ्यो ‘भाइ पूजा’

‘स्वन्ती’लाई ‘स्वाँती’ पनि भनिन्छ। नेपाल भाषाका यी शब्द ‘स्वाँ’को अर्थात् ‘फूल’ र ‘ती’ को अर्थ ‘रस वा पानी’ हो। तिहार आफैँ पनि अनेकौँ फूलहरूले युक्त पर्व हो।

सनातन हिन्दू नेपालीहरूले मनाउने दशैँपछिको अर्को ठूलो चाड हो तिहार। यसलाई ‘यमपञ्चक’ पनि भनिन्छ। तर हिन्दूबाहेक अन्य धर्मावलम्बीहरूले समेतले आआफ्नो मौलिक शैलीबाट तिहार मनाउँछन्। कात्तिक कृष्ण त्रयोदशी (काग तिहार)को दिन शुरू भई कात्तिक शुल्क द्वितीया (भाइतिहार)मा तिहार सकिन्छ। झिलिमिली बत्ती र थरीथरीका फूलहरूले तिहारमा रौनक थप्छ। जाति तथा सम्प्रदाय विशेषले तिहारलाई आफू अनुकूल व्याख्या गर्ने गर्छन्। यही समय नेवार समुदायले आफ्नो नववर्ष तथा म्हपूजा पनि मनाउने गर्छन्।

म स्वयं नेवार समुदायको भएका कारण आफ्नै समुदायमा प्रचलित तिहारका चालचलनबारे चर्चा गर्न चाहेँ। हाम्रो समुदायमा विशेषतः तिहार चाडलाई‘स्वन्ती’ भनिन्छ। नेपाल भाषाअनुसार, ‘स्वँ’को अर्थात् ‘तीन’ र ‘ती’ को अर्थात् ‘दिन’ भन्ने बुझिन्छ। यसरी बुझ्दा नेवार समुदायले विशेषतः लक्ष्मी पूजा, म्ह पूजा र ‘किजा पूजा’ अर्थात् भाइ पूजालाई महत्त्व दिएर मनाएको देखिन्छ। यसमा अन्य संस्कृतिविद्ले पनि सोही अनुसारको व्याख्या गर्दै आएका छन्। तर, प्रचलित भनाइ भन्दा मेरो भनाइ भने फरक छ।

‘स्वन्ती’लाई ‘स्वाँती’ पनि भनिन्छ। नेपाल भाषाका यी शब्द ‘स्वाँ’को अर्थात् ‘फूल’ र ‘ती’ को अर्थ ‘रस वा पानी’ हो। तिहार आफैँ पनि अनेकौँ फूलहरूले युक्त पर्व हो। ढकमक्क सयपत्री र गोदावारीलगायत फूलले यो मौसममा तिनका बास्नाले मन आल्हादित हुन्छ, घर ढोका र बगैँचा सुसज्जित हुन्छ। अचेल त टेलिभिजन, मोबाइल र सामाजिक सञ्जालमा समेत फूलैफूल देख्न पाइन्छ।

मेरो तर्क
नेवार समुदायमा तिहारलाई विशेषतः तीन दिनको मानिए पनि यो समुदायमा पनि तिहार पाँच दिनै मानिनुपर्छ। माथि नै उल्लेख गरियो, कात्तिक कृष्ण त्रयोदशी अर्थात् पहिलो दिन कागको पूजा हुन्छ। यमदूत मानिने कागले हाम्रो वातावरणका फोहोर र सिनोहरू चाराका रूपमा खाने गर्छ। यसले प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रूपमा वातावरण स्वच्छ पार्ने र प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्छ। कागले सार्वजनिक ठाउँमा शारीरिक सम्पर्क गर्दैन भन्ने ठानिन्छ। तर तथ्यहरूले त्यसलाई पुष्टि गर्दैन। त्यसो हुँदाहुँदै पनि सर्वसाधारणहरू भने कागले ‘सरम र लाजको सन्देश दिने’ ठान्छन्।

कात्तिक कृष्णचर्तुदशीका दिन कुकुरको पूजा गरिन्छ। सनातन हिन्दू परम्परामा मृत्युका देवताका रूपमायमराजलाई लिइन्छ र उनको वाहनको रूपमा पुजिने प्राणी कुकुर मानिसको सबैभन्दा प्रिय र वफादार प्राणीमा पर्छ। औँशीका दिनमा गाई तथा लक्ष्मीको पूजा हुने गर्छ। त्यसदिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा हुन्छ। राति महिला समूहले भैली खेल्ने गर्छन् भने भैलीको भोलिपल्टबाट केटाहरूको समूहले देउसी खेल्ने प्रचलन छ।

कात्तिक शुक्ल प्रतिपदाको दिन गैर नेवार समुदायले गोवर्द्धन पूजा गर्छन् भने नेवार समुदायले ‘म्ह पूजा’ गर्छन्। म्हको अर्थात् ‘स्वंयम्’को पूजा भन्ने बुझिन्छ। यसै दिन उनीहरूको ‘न्हुँ दया’ अर्थात् नेवारहरूको नयाँ वर्ष शुरू हुन्छ। नयाँ वर्षको शुरूवातसँगै नयाँ नेपाल संवत्को पनि शुरूवात हुन्छ।

कात्तिक शुक्ल द्वितीयाको दिन भाइटिका, भाइ पूजा अथवा किजा पूजा पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्नो दाजुभाइलाई सप्तरंगी टीका र मखमली तथा सयपत्री मालासहित पूजा गर्छन्। भाइटिकालाई म भ्रातृ पूजा भन्न रुचाउँछु, जुन कात्तिक शुक्ल द्वितीयामा पर्छ। यसलाई यम द्वितीया पनि भनिन्छ। भ्रातृ पूजा वर्षमा एकपटक मात्र गरिन्छ।

भ्रातृ पूजा वर्षको चार पटक अर्थात् श्रावण, भाद्र, आश्विन र कात्तिक शुक्ल द्वितीयाका दिनमा अहिले कात्तिकमा गरिएजस्तै गरी हुने गरेको थियो। यी चारै द्वितीयाहरूलाई क्रमशः कलुषा द्वितीया, निर्मला द्वितीया, प्रेतसञ्चारा द्वितीया र यम द्वितीया नाम दिइएको छ।

सनातन हिन्दू परम्परामा फुपूका छोराछोरी, काकाका छोराछोरी, मामाका छोराछोरीलाई पनि साख्य दाजुभाइ, दिदीबहिनीसरह मानेर भाइटिकाको दिन टीका थाप्ने चलन छ। तर पहिले भने यी चार पटकका भ्रातृ पूजामा, छुट्टाछुट्टै समयमा फुपूका छोराछोरी, काकाका छोराछोरी, मामाका छोराछोरी र आफ्नै आमाबुबाका सन्तान अर्थात् आफ्ना साख्य दिदीभाइ, दाजु बहिनीसँग भ्रातृ पूजा हुने गरेको थियो।

पहिलो, कलुषा द्वितीयामा काकाकी छोरीबाट भ्रातृ पूजा हुने गर्थ्यो। दोस्रो, निर्मला द्वितीयामा मामाकी छोरी र तेस्रो प्रेतसंचारा द्वितीयामा फुपूकी छोरी र चौथो यम द्वितीयामा आफ्नै दिदीबहिनीको हातबाट टीका ग्रहण हुने गरेको बारे मैले मेरो पुस्तक ‘नेपालका चाडपर्व’मा उल्लेख गरेको पनि छु। पहिलो भ्रातृ पूजा श्रावण द्वितीयामा हुन्थ्यो, जहाँ प्रायश्चितको पूजा हुने गरेको थियो। दोस्रो पूजा भाद्र द्वितीयामा हुन्थ्यो, जहाँ सरस्वतीको पूजा हुन्थ्यो। तेस्रो पूजा असोज द्वितीयामा हुन्थ्यो, त्यसमा श्राद्ध पूजा हुने गरेको थियो। चारौँ पूजाचाहिँ यही यमपञ्चक हो।

‘व्रतराज’ नामक पुस्तकको ‘द्वितीयाव्रतानि’मा रहेको एक श्लोकले यसको पुष्टि गर्छ:

‘प्रथमा श्रावणे मासि तथा भाद्रपदे परा।।

तृतीयाश्वयजु मासि चतुर्थी कार्तिकी भवेत्।।

श्रावणे कलुषा नाम्नी तथा भाद्रे च निर्मला।।

आश्विने प्रेतसंचारा कात्र्तिके याम्यतो मता।। ।।इति।।

चतस्रो द्वितीया उपक्रम्य प्रथमायां किंचित्प्रायश्चित द्धितीयाया

सरस्वतीपूजा तृतीयायां श्राद्धमुक्तवा चतुथ्र्यां यमपूजनमुक्तम्।।

–व्रतराज, द्वितीयाव्रतानी

यद्यपि, यी भ्रातृ पूजाहरू कहिलेसम्म चलनमा चले, यसबारे अहिल्यै यकिन गरेर भन्न सकिन्नँ। तर, कुनै समय नेवारी जातिमा समेत सो चलन चलेको देखिन्छ।

परिवारभित्र रहँदा होस् या बाहिर रहँदा दाजुभाइ दिदीबहिनीबीच यदाकदा झगडा र वैमनस्यता ल्याउँछ, जुन स्वभाविक हो। तर आपसी मनोमालिन्य हटाइ सद्भाव बढाउन यस्ता पर्वहरूले अवश्य नै भूमिका खेल्छन्। र, यस्ता अवसरहरूमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा र पूजा गर्दा दाजुभाइहरूको यश, आयु, अर्थ र आरोग्य बढ्ने लोक विश्वास छ।समय बदलिँदै जाँदा अचेल दाजुभाइले पनि दिदीबहिनीहरूलाई उसैगरी माला र टीका लगाएर सम्मान र प्रेम साट्ने प्रचलन बढेको छ, लैंगिक समानताका दृष्टिकोणबाट त्यो सार्है सुन्दर अभ्यास पनि हो।

(कुराकानीमा आधारित)