रुसी हवाई आक्रमणका कारण युक्रेनका लाखौँ घरमा विद्युत् आपूर्ति ठप्प

युक्रेनका सर्वसाधारण र संवेदनशील संरचनाहरूमा आक्रमण गर्न रुसले कुनै कसर बाँकी नराख्ने युक्रेनी अधिकारीको भनाइ छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका ऊर्जा केन्द्रलक्षित आक्रमणलाई तीव्र पारेको बताएका छन्। रुसले युक्रेनका पूर्वी, पश्चिमी, मध्य र दक्षिणी क्षेत्रमा आइतबार व्यापक रूपमा आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। आक्रमणका कारण युक्रेनका करिब १५ लाख घरमा विद्युत् आपूर्ति ठप्प भएको उनले बताएका छन्।

रुसले हवाई आक्रमण तीव्र बनाए पनि उसका अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनले खसालिदिएको युक्रेनको दाबी छ। तर, रुसी आक्रमणले युक्रेनी सेनालाई अघि बढ्नबाट रोक्न नसक्ने जेलेन्स्कीको भनाइ छ।

“हामीसँग रुसी ड्रोनलाई शतप्रतिशत हस्तक्षेप गर्ने कुनै प्राविधिक क्षमता छैन। तर, आफ्ना समर्थकहरूको सहयोगले हामी बिस्तारै त्यसतर्फ अघि बढ्नेमा विश्वस्त छु,” युक्रेनी राष्ट्रपतिले भने। गत साताको सोमबारयता जारी रुसले तीव्र पारेको आक्रमणका कारण युक्रेनका एक तिहाइ ऊर्जा उत्पादन सेवाहरूमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार शनिबार मात्रै रुसले ३६ वटा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसमध्ये अधिकांशलाई खसालिएको थियो। रुसी आक्रमणका कारण ठप्प भएको अधिकांश स्थानको विद्युत् आपूर्ति पुनः स्थापित गर्ने काम भइरहेको युक्रेनी अधिकारीहरूको भनाइ छ।

जाडोयाम शुरू हुनुअघि युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुर्‍याउने र अग्रपंक्तिबाहेकका क्षेत्रमा पनि युद्ध चर्काउने उद्देश्यले रुसले आक्रमण तीव्र पारेको लिभ शहरका उपप्रमुख सर्हिय किरालको भनाइ छ। उनी भन्छन्, “युक्रेनी सैन्य बलले युद्ध क्षेत्रका अग्र भागमा जति सफलता पायो, त्योभन्दा बढी क्षति अन्य क्षेत्रका मानिसलाई हुनेछ। किनकि रुसले अन्य क्षेत्रका सर्वसाधारण र संवेदनशील संरचनामा आक्रमण गर्न कुनै कसर बाँकी राख्नेछैन।”

शुक्रबार मात्रै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले दक्षिणी खेर्सन क्षेत्रस्थित जलविद्युत् आयोजनाको बाँधमा विष्फोटक पदार्थ बिछ्याएको आरोप लगाएका थिए। युक्रेनी सो क्षेत्र हाल मस्कोको कब्जामा छ। जेलेन्स्की भन्छन्, “काखोभ्कास्थित जलविद्युत् आयोजनामा क्षति पुगे दशौँ हजार मानिस बाढीको जोखिममा पर्नेछन्।”

रुसले भने विष्फोटक पदार्थ राख्ने काम नगरेको बरु युक्रेनले नै क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लगाएको छ। रुसी अधिकारीले शनिबार एक निर्देशिका जारी गर्दै रुसी आक्रमण तीव्र भएकाले सो क्षेत्रबाट अन्यन्त्र सर्न स्थानीयवासीलाई आग्रह गरेको थियो।