सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक 'फास्ट ट्र्याक'मा अघि बढाइने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए।

काठमाडौँ– सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई 'फास्ट ट्र्याक'मा अघि बढाउने भएको छ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाउने निर्णय गरेको हो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानहरूको प्रभावकारी रूपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि बिग्रन नदिने बताए।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो।