क्यानका कार्यवाहक सचिव मल्लले दिएको राजीनामा स्वीकृत

क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको बोर्ड बैठकले मल्लको राजीनामा स्वीकृत गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको राजीनामा स्वीकृत गरेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

विवादबीच गत महिना सम्पन्न नेपाल टी–२० लिगको मुख्य साझेदारका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्ससँग सम्झौता लगायतका महत्त्वपूर्ण निर्णयमा एकलौटी निर्णय गरेको भन्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमसहित दाउद अन्सारी, छुम्बी लामा, धर्मराज गिरी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री र अमितवीर पाण्डे रुष्ट बनेका छन्।

उनीहरूले माघ १५ गते पत्रकार सम्मेलन गर्दै क्यान अध्यक्ष चन्दबहादुर चन्द, कार्यवाहक सचिव मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका थिए। 

उनीहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।

मल्लले कार्यवाहक सचिवको जिम्मेवारी छोडेपछि बैठकले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको छ।