चार दिनपछि सेयर बजारमा सुधार

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ।

काठमाडौँ- लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक १४.३५ अंकले बढेर १ हजार ८ सय ५८.४९ अंकमा उक्लिएको हो।  

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने ५१ करोडमा सीमित भएको छ। यस दिन ५१ करोड ६८ लाख रुपैयाँ बराबरको १५ लाख २८ हजार ४२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आइतबार कारोबार भएका होटल एवं पर्यटन र म्युचुअल फण्डबाहेक अन्य ११ समूहको उपसूचक उकालो लाग्यो।

यस दिन रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको  सेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको ४.१५, किसान लघुवित्तको ४.०४ र महिला लघुवित्तको ३.९८ प्रतिशतले उकालो लागेको छ। 

अभियान लघुवित्तको ७.६० प्रतिशत, माहुली लघुवित्तको ४.०३, बेस्ट फाइनान्सको ३.१८ प्रतिशतले गिरावट आएको छ। आइतबार सबैभन्दा धेरै एभरेष्ट बैंकको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।