त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्। 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन्।

३५ वर्षीय मोहमद कमल मोहगोबलाई बुधबार राति १२ बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो। उनी दुबईबाट जहाजमा आएका थिए। उनलाई ९ किलो १३४ ग्राम अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालयका प्रवक्ता सोना श्रेष्ठले बताए।

भन्सार चेकजाँचका क्रममा मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका र एउटा डल्लो आकारको सुन ल्याएको फेला परेको थियो। उनलाई गौशाला प्रहरीमा बुझाइएको भन्सार कार्यालयले जनाएको छ। “थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता श्रेष्ठले भने।

गत महिना १९ किलो सुनसहित दुई सुडानी नागरिक पक्राउ परेका थिए।