बुद्धले जोगाएको पक्षी बुद्धभूमिमा सङ्कटापन्न

सन् २०२० मा नेपालमा ४०४ वटा सारस थिए। २०२१ मा ३९४ र २०२२ मार्चसम्ममा ३९४ वटामा झरेका छन्।

धान खेतमा चर्दै सारस ।

कपिलवस्तु- लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए। धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महत्वपूर्ण वर्णन छ। तर पछिल्लो समयमा बुद्धजन्मस्थलकै सारस संरक्षकत्वविहीन छन्।



विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक महत्वपूर्ण अध्यायका रुपमा वर्णित दुर्लभ पक्षी सारसको जीवनचक्र बुद्धजन्मस्थल लुम्बिनीमा नै सङ्कटमा देखिएकोप्रति कसैको चिन्ता भएन। चरा संरक्षणको क्षेत्रमा काम गर्ने लुम्बिनी ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीको अनुभवमा लुम्बिनी विकास कोषको पूर्वी पर्खाल बाहिर प्रायः देखिने दुई दर्जनभन्दा बढी सारसका जोडी पछिल्ला केही वर्षयता हराइरहेका छन्। स्थानीय चराप्रेमी कुर्मीले लुम्बिनी विकास कोषको उत्तरी भाग लुम्बिनी ग्रामको सिमसार क्षेत्रमा पालिएका सात जोडी सारस पनि देखिन छाडेको बताए।



त्यस्तै आसपासका क्षेत्रमा सधैँ विचरण गरिरहने सारसका बसाइँ पनि स्थिर नरहेको उनको भनाइ छ। गर्मीयाममा सिमसार क्षेत्र सुक्ने भएकाले सारसको वंश वृद्धिमा समेत समस्या हुने गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुर, भुजहिया, आमा, सम्मरीमाई गाउँपालिकाको बेतकुइँया र फरेना तथा कोटहीमाई गाउँपालिकाको बोगदिया आदि स्थानका तालतलैया, नदी–खोला र सिमसार क्षेत्र सुख्खायाममा सुक्ने गरेकाले सारस चल्ला कोरल्ने बेला अन्यत्र जाने गरेका छन्। साथै, कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा सारस पाइन्छन्।



स्थानीय सञ्चारकर्मी अञ्जना चौहानका अनुसार पहिले एकै स्थानमा ठूलो बथानमा सारस सजिलै देख्न पाइन्थ्यो। सधैँ जोडीमा रमाउने सारस किसानका खेतमा आनन्दले विचरण गर्थे। तर बढ्दो सहरीकरणले सारसलाई विस्थापित गराएको उनी बताउँछन्।



हिमाली प्रकृति संस्थानले सन् २०२२ को मार्चमा गरेको अध्ययनअनुसार रूपन्देही र कपिलवस्तु जिल्लामा सारसको कूल सङ्ख्या ३५४ थियो। सन् २०२० मा नेपालमा सारसको सङ्ख्या ४०४ र सन् २०२१ मा ३९४ थियो। अहिले दिन प्रतिदिन सारसको सङ्ख्या घट्दै गएको संस्थानका कार्यक्रम निर्देशक डा. सुदीप सुवेदीले बताए।



विद्युतीय सञ्जाल, बढ्दो सहरीकरण, कोलाहल, औद्योगिक प्रदूषण, चोरी सिकारी, खेतीमा विषादीको अन्धाधुन्ध प्रयोग र सिमसार क्षेत्रमा मान्छेको व्यापक हस्तक्षेपका कारण बासस्थान असुरक्षित हुँदै गएपछि सारसको सङ्ख्या घट्दै गएको सुवेदीको भनाइ छ। सिमसार, खेतबारी र घाँसे मैदानमा बस्न रूचाउने सारस पक्षी कीरा फट्याङ्ग्रा आहार गर्ने भएकाले बालीनालीमा समेत फाइदा पुग्ने गरेको डा. सुवेदीले बताए। उनले भने, “खेतबारीमा अत्यधिक कीटनाशक औषधिको प्रयोगले सारसको प्रजनन् क्षमतामा समेत असर पुर्‍याइरहेको छ।’’ 



सारसले प्रायः असार–साउनमा ओथारो बस्ने, चल्ला कोरल्ने गर्दछ। सम्मरीमाइ–७ का अगुवा किसान अशोक त्रिपाठीले भने, “लामो डाँठ हुने कालानमक, कनकजिरा, गौरिया, बासमतीलगायतका रैथाने धानखेतीमा सारसले गुँड बनाउन रुचाउँछ। पछिल्ला वर्षमा ती लामो डाँठेधान विस्थापित भएपछि सारसलाई सुरक्षित बासस्थलको समस्या भइरहेको छ।’’



हुन त अहिले पनि बुद्धजन्मस्थल लुम्बिनीमा सारसको सङ्ख्या राम्रै रहेको अनुमान गरिएको छ, तर सुख्खायाममा नदी, खोलानाला, तालतालैया लगायतका सिमसार क्षेत्र सुक्ने गरेका कारण पनि सारसको वंश वृद्धिमा नकारात्मक असर परिरहेको पक्षीविद्हरूको कथन छ।



त्यसैगरी पछिल्लो पाँच वर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को आमागाउँ आसपासमा मात्र करेन्ट लागेर सात वटा सारस मरेको नेचर कन्जरभेसन फाउन्डेसनका कैलाश जयसवालले बताए। उनले, भने “जाडोयाममा कुहिरो लागेका बेला बिजुलीको नाङ्गो तारमा ठोक्किँएर धेरैजसो सारस मर्ने गरेका छन्।’’



प्रसारण लाइनको नाङ्गोतारमा ठोक्किँएर नगरपालिका क्षेत्रमा मात्र बर्सेनि सरदर छ जोडी सारस मर्ने गरेको जयसवालले बताए। २०७७ साउन तेस्रो साता नगरपालिका– ६, तरकुलहा गाउँको दक्षिण सीमामा रहेका छमध्ये दुई जोडी सारस करेन्ट लागि मरेको उनले बताए। सारसलाई विश्वमै अग्लो उड्ने चरा मानिन्छ। छ फिटसम्म अग्लो र साढे तीन किलो तौलको हुने सारसले पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ आठ फिटसम्म पुग्छ। 



जयसवालले भने, “सजिलैसँग उड्न नसक्ने शारीरिक अवस्थाका कारण नेपालको एक संरक्षित पक्षी सारस करेन्ट लागेर मर्ने गरेका छन्।’’ चरा संवेदनशील क्षेत्र जोगाउन तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने, तथा नाङ्गो बिजुलीको तार विस्थापित गरी प्लास्टिकले बेरिएको अत्याधुनिक केबुल हाल्नेजस्ता उपाय अपनाएर सारसलगायत पक्षी जोगाउन सकिने जयसवालको भनाइ छ। 



सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ। बुद्ध आदर्श माविका शिक्षक हरिमोहन चौधरीको अनुभवमा सारस सधैँ जोडीमा बस्ने गर्दछन्। भाले वा पोथीमध्ये एउटाको मृत्यु भयो भने अर्कोले नयाँ जोडी बनाउँदैन। सकेसम्म एक्लै बस्ने अथवा छिटो प्राण त्याग गर्ने गर्छन्।



सिद्धार्थ गौतमको जीवनीमा सारसको प्रसङ्ग महत्वपूर्ण छ। नातामा दाजुपर्ने आफ्ना मामाको छोरा देवदत्तले प्रहार गरेको बाँण लागेर घाइते सारसलाई राजा शुद्धोधनको न्यायालयमा उभिएर राजकुमार सिद्धार्थ (पछि बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्ध बने)ले जीवनरक्षा गरेका थिए। 



चरा विज्ञहरूका अनुसार नेपालसँगै अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा सारस पाइन्छन्। विश्वमा १५ प्रजातिका र नेपालमा चार प्रजातिका सारस पाइन्छन्। नेपालमा पाइने प्रजातिमा कर्‍याङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस क्रेन हुन्। लक्ष्मण सारसलाई खोया हाँस पनि भनिन्छ। 



राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलगायत दुर्लभ पक्षीको सिकार गर्ने व्यक्तिलाई रु.१५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।