फैसलाको पूर्णपाठ आएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ: माओवादी केन्द्र

माओ‌वादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले धैर्य गर्नुपर्ने बताएका छन्।

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्य गर्नुपर्ने बताएको छ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन्। “रास्वपाले धैर्य गर्नुपर्छ, फैसलाको पूर्णपाठ आएको छैन”, उनले भने, “अहिले नै हतार गर्नु हुँदैन।”

रास्वपाले गृह मन्त्रालय पुनः आफ्नो पार्टीले पाउनुपर्ने अडान कायम राखेका बेला माओवादी केन्द्रको यस्तो भनाइ आएको हो।

रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्छ भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नआउने पनि उनको भनाइ छ।