टुकुचा सुरुङ पुरातात्विक संरचना : अध्ययन टोली

उत्खनन‍्का  क्रममा भेटिएका ‘श्री–३ वीर’ लेखिएका इँट्टा, गुम्बज शैलीमा बनेको संरचना, सुरुङ बनाउँदा प्रयोग भएका सुर्की, देव शमशेरको पालाका कागजातहरू राणाकालीन भएको प्रतिवेदनको निष्कर्ष छ।

काठमाडौँ– टुकुचा खोला उत्खनन् गर्ने क्रममा भेटिएको टुकुचा सुरुङ पुरातात्विक सम्पदा भएको निष्कर्षसहितको प्रतिवेदन पुरातत्व विभागमा पेश भएको छ। पुरातत्वविद् भास्कर ज्ञवाली नेतृत्वको अध्ययन टोलीले टुकुचा सुरुङ पुरातात्विक भएको निष्कर्षसहितको प्रतिवेदन शनिबार विभागमा बुझाएको हो।

टुकुचाको सुरुङ पुरातात्विक भएको प्रतिवेदन विभागमा पेश भएको विभागका प्रवक्ता रामप्रसाद कुँवरले बताए। सुरुङ उत्खनन‍्का क्रममा भेटिएका ‘श्री–३ वीर’ लेखिएका इँट्टा, गुम्बज शैलीमा बनेको संरचना, सुरुङ बनाउँदा प्रयोग भएका सुर्की, देव शमशेरको पालाका कागजातलगायतका आधारमा सो प्रतिवेदनले टुकुचा सुरुङलाई राणाकालीन भएको प्रमाणित गरेको हो।

प्राचीन स्मारक ऐन–२०१३ का अनुसार, १०० वर्ष पुरानो संरचनालाई पुरातात्विक मानिन्छ। ऐन र विभागमा पेश भएको प्रतिवेदनका आधारमा टुकुचा र गुम्बज शैलीमा बनेको सुरुङ पुरातात्विक भएको प्रवक्ता कुँवरले बताए।

भत्किएका ती संरचनाको संरक्षण हुनुपर्ने विषयसमेत प्रतिवेदनमा उल्लेख भएको उनले बताए। टुकुचा उत्खनन् रोक तथा संरक्षणको विषयमा काठमाडौँ महानगरपालिकालाई अनौपचारिक जानकारी दिइएको तर औपचारिक रूपमा तिहारपछि पत्राचार गरिने प्रवक्ता कुँवरले बताए।

योसँगै काठमाडौ‌ँ महानगरपालिकाले टुकुचा उत्खनन् गर्न नपाउने भएको छ। यद्यपि, उच्च अदालत पाटनमा मुद्दा चलिरहेका कारण महानगरको उत्खनन् कार्य स्थगित छ।

अदालतको फैसला मान्छौँ: भूपदेव साह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका स्वकीय सचिव भूपदेव साहले अदालतको फैसलापछि मात्र यस विषयमा महानगरले कदम चाल्ने प्रतिक्रिया दिए।

उनी भन्छन्, “अदालतको फैसलाले संरचना पुरातात्विक हो वा होइनन्, पुरातत्वमा पनि कुन खोल्न मिल्ने, कुन खोल्न मिल्ने/नमिल्ने। त्यस संरचनामाथिको जग्गाको लालपूर्जा कसले कसरी पायो? नापीले के आधारमा जग्गामा पास गरिदियो? त्यस स्थानमा क-कसले के आधारमा घर बनाएलगायतका विषयमा अदालतको फैसला नै अन्तिम मानिने छ।”