एन्फा महासचिव राईले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताएका छन्।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले नेपालमा फुटबल संस्कृतिको विकास गर्न नसकिएको बताएका छन्। दक्षिण एसियाको अन्य राष्ट्रमा भन्दा नेपालमा फुटबलको क्रेज बढी भए पनि आफूहरूले संस्कृतिको विकास गर्न नसकेको उनले स्वीकार गरेका हुन्।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताए।
"भाले कपबाट शुरू भएको फुटबल यतिको सम्म ल्याइपुर्याएका छौँ। नेपालको जतिको फुटबल क्रेज कतै पनि छैन। एएफसी, साफ र फिफाको नजर पनि नेपालमा छ। तर, कल्चरको विकास गर्न नसकेकै कारण दर्शकहरू फुटबल हेर्न नि टिकट काट्नुपर्छ? भन्ने प्रश्न गर्छन्। आउँदो दिनमा यसलाई सुधार गर्छौँ", उनले भने।
विगतमा फुटबल फ्रीमा गरे पनि अब फ्रीमा नहुने राईले जानकारी दिए। अत्यधिक रूपमा उधारोमा रहेको भन्दै रकमको जोहो गर्न गर्न निःशुल्क फुटबल नगर्ने उनले बताए। "एन्फाले धेरै उधारो तिर्न बाँकी छ। मलाई पनि कति फोनकलहरू आइरहेका छन्। लाजैमर्दो भइसक्यो", उनले भने, "अब नेपालमा इन्कम हुने गरी फुटबल गराउँछौँ। अहिले त भन्न सक्दैनौँ एक/दुई वर्षमा सबै उधारो तिरिसक्छौँ।"
यसपटक फुटबल चलाउन नेपाल सरकारसँग र फुटबलको सर्वोच्च निकाय फिफासँग पहल गरिरहेको पनि उनले जानकारी दिए। यद्यपि, यो छलफलकै क्रममा रहेको उनले बताए। "ए, बी र सी डिभिजन चलाउनको लागि सरकारसँग ६ करोड माग गरेका छौँ। यो छलफलकै क्रममा छ। फिफाले पनि फुटबल सञ्चालनको लागि फन्डिङ गर्ने भएको कारण सहयोग मागिरहेका छौँ", उनले भने।
'ए' डिभिजन लिगको डिजिटल राइट्स एन्फाले ६० लाखमा बेच्ने तयारी गरिरहेको उनले जानकारी दिए। 'ए' डिभिजन लिग यसपटक फागुन १९ गतेबाट शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेल साँझ साढे पाँच बजे शुरू हुनेछ। एन्फाले 'ए' डिभिजन लिग अन्तर्गत पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरिसकेको छ। डबल राउन्ड रोबिनको आधारमा हुने नयाँ सिजनको लिगका खेलहरू दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
यसपटक 'बी' डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज युनाइटेड फुटबल क्लब शीर्ष डिभिजनमा उक्लिएको थियो। एफसी खुमलटार भने उपविजेताको रूपमा शीर्ष डिभिजनमा उक्लिएको हो।
नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा फागुन २० गते विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ। यो खेल च्यासल मैदानमा साढे २ बजेबाट शुरू हुनेछ। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले भने पहिलो खेलमा जावलाखेल यूथ क्लबसँग खेल्ने छ। यी दुईबीचको खेल फागुन २१ गते दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरू हुनेछ।
यस पटकको लिगमा १८२ खेल हुने एन्फाले जनाएको छ। लिग विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको 'मोस्ट भ्यालुएबल' खेलाडीले ३, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ र इमर्जिङ प्लेयरले १५० हजार रुपैयाँ पाउने छन्।
'फेयर प्ले' अवार्ड विजेता टोलीले ३ लाख पाउने छन्। प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
