इथियोपिया लैजाँदै गरिएका १२ नेपाली महिलालाई भारतको जयपुर विमानस्थलबाट फर्काइयो

उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।

काठमाडौँ– भारत हुँदै इथियोपिया लैजान लागिएका १२ जना नेपाली महिलाको राजस्थानको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको छ।



नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र विभिन्न संघ-संस्थाको सहयोगमा उनीहरूलाई माघ ११ गते विमानस्थलको अध्यागमन कार्यालयबाट उद्धार गरी १९ गते नेपाल ल्याइएको हो।



उद्धार गरिएका महिलाहरूमा २० देखि ३० वर्षसम्मका दुई जना, ३१ देखि ४० वर्षसम्मका आठ जना र ४१ भन्दामाथिका दुई जना रहेका छन्। उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए। उनीहरूलाई नेपालबाट भारत पुर्‍याइ भिजिट भिसामा दुबई हुँदै इथियोपिया लैजाने कार्यमा नेपाली र भारतीय नागरिकहरू संलग्न रहेको प्रहरीले जनाएको छ।



नेपालबाट महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ इथियोपिया लैजाने भनी भिजिट भिसामा दुबई लगी त्यहाँबाट घरायसी कामदारका रूपमा ओमन र कुवेतमा तस्करी हुने गरेको ब्युरोले जनाएको छ। सो घटनामा संलग्न रहेकाहरूको पहिचान गरी खोजतलासका साथै आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रवक्ता मल्लको भनाइ छ।