कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।
काठमाडौँ-
प्रभाव गङ्गातटको विशेष
हेरेर आएँ म फिरी मधेश।
बस्नै पर्यो केही दिन झोपडीमा
फसेर दैवि गतिको कडीमा।।
उराठिलो धूसर चैत मास
धुलैधुलाका सबतर्फ रास।
गर्मी बढेको छ, हवा छ तातो
निस्क्यो भने बाहिर उड्छ सातो।।
कवि शिरोमणि लेखनाथ पौड्यालले ‘म मधेशमा’ शीर्षक कविताभित्र आफ्नो बसाइलाई यसरी कथेका छन्। उनी जन्मेको भने कास्कीको अर्चले अर्घौमा हो। आफ्नो जीवनको उत्तरार्धका कयौं हिउँद उनले मधेशमा बिताएका थिए।
होचो अली दक्षिणतर्फ कुप्रो
थोत्रो,अँध्यारो खरको छ झुप्रो।
छ्याङ्छ्याङ्ति सारा छितरो छ छानू
चौतर्फि च्याई नभ हाँस्छ मानू।।
पानी न रोकिन्छ, न छेक्छ घाम
न गर्छ त्यो शीत–निरोध काम।
आँधी–हुरीको न त रोकथाम
छ नाम मात्रै घर त्यो तमाम।।
कवितामा उतारेझैं उनी बस्ने घर झुपडीनै थियो त? त्यहाँ त उनको ‘दरबार’ थियो। लेखनाथ साहेबको दरबार।
मधेशमा उनको घर रहेको ठाउँका स्थानीयहरू अहिले पनि यही नामले चिन्छन्। उनलाई भेट्ने जीवितहरूमध्ये स्थानीय कमल साह लेखनाथ साहेबको दरबार नै भन्छन्।
७७ वर्षीय साहको स्मरणमा कवि लेखनाथको व्यक्तित्व ताजै छ। उनी भन्छन्, “म सानै छँदादेखि उहाँलाई देखेको हो। अग्लो ज्यान थियो, लामो कपाल दाह्री राख्नुहुन्थ्यो, हमेशा सेतो सुरुवाल–कमिज लगाउनु हुन्थ्यो।”
केटाकेटीहरू उनको त्यो व्यक्तित्व देखेर डराउँथे। बोलेको कमै सुन्न पाइन्थ्यो। "कम बोल्नुहुन्थ्यो। यो घर बन्दा अलि बूढो देखिनुहुन्थ्यो," साह भन्छन्, “स्वभाव एकनासको थियो कहिल्यै परिवर्तन देखिनँ।”
कविले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको त्यो ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका वडा नं.२ काठमाडौँ गाउँ। वीरगन्जबाट पश्चिम करिब २५ किलोमिटर दूरीमा यो गाउँ पर्छ। पर्सा जिल्लाको पोखरिया बजार भएर ठोरीतर्फ लाग्दा जानकीटोला नहर चोकदेखि बाटो उत्तरतिर मोडिन्छ। करिब चार किलोमिटरपछि वसन्तपुर चोक आउँछ।
अहिले त्यो ठाउँमा हुलाकी राजमार्ग जोडिएको छ। नजिकै पश्चिमतिर ललितपुर पर्छ। साबिक बाटो भएर थोरै अगाडि बढ्दा बाटोमै पर्ने काठमाडौँ टोलमा ‘लेखनाथ साहेबको दरबार’ छ।
कवि लेखनाथको यही दरबारलाई कविको स्मृतिस्थलको रूपमा संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने योजना बनाइँदै छ। “कविको घर नासिनुअघि जोगाइ हाल्नु जरुरी छ,” जिराभवानी कार्यपालिका सदस्य सरोज चौरसिया भन्छन्, “मधेशसँग जोडिएको कविको साइनो, साहित्य र समाज अध्ययनकर्ताहरूका लागि महत्वपूर्ण निधि बन्न सक्छ।”
विभिन्न धार्मिकस्थल,जातीय जीवनशैली र सांस्कृतिक महत्व रहेको जिराभवानीमा कवि लेखनाथको दरबार संरक्षण गरी गाउँपालिकाले पर्यटकीय सम्भावनाका ढोका खोल्ने योजना बनाएको छ।
भग्नावशेष दुईतल्ले काठको घरको भुईंतलामा एउटा द्वारखाना र दुई वटा कोठा छन्। माथिल्लो तलामा एउटा बर्दलीसहित दुई कोठा छन्। पश्चिममा रहेको कोठाको पश्चिम–दक्षिण कुनामा भित्तासँगै जोडिएको खाट छ। खाटको तीनतिर ठूला झ्यालहरू छन्। मूल भवनमा शुरूको काठे भर्याङ भाँचिएपछि अहिले त्यहाँ फलामे सिँढी हालिएको छ। सँगै उत्तरतिर अर्को दुईतले ‘धन्सार’ छ। पश्चिमतर्फ एउटा काठको घरको भग्नावशेष छ, अंग्रेजीको ‘एल’ अक्षरको आकारमा। त्यहाँ चौपाय राखिन्थ्यो।

राणाकालीन दरबारमा प्रिय कविका रुपमा चिनिने लेखनाथले सम्भवत त्यो जमिन बिर्तामा पाएका थिए। मधेश आएका बिर्तावाललाई ‘साहेब’, ‘राजा साहेब’ र ‘मलिकार’जस्ता आदरसूचक सम्बोधन स्थानीयले गर्थे। उनीहरू बस्ने भवनलाई ‘दरबार’ भन्ने गरिन्थ्यो।
“पहाडी समुदायका बिर्तावाल मधेशमा आएर कसरी जोडिन्थे? तत्कालीन समयमा बिर्ता कसरी दिइन्थ्यो? त्यसको साक्षीका रूपमा राख्न पनि कविको दरबारको संरक्षण गरिनुपर्छ," चौरसिया भन्छन्।
कविको घरसँगै चार बिगाह जमिन छ। त्यो जमिन गाउँपालिकाले लिएर पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको चौरसियाले बनाएका छन्। तर ती घर,जमिन अहिले कविका परिवारबाट अन्य व्यक्तिको स्वामित्वमा पुगिसकेको छ।
“त्यसलाई कानूनी प्रक्रियाबाट ल्याउन सकिने आधार खोजीरहेका छौँ,” उक्त गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले भने, “प्रचलित दररेटमा किन्दा धेरै महँगो पर्छ, गाउँपालिकाको बजेटले पुग्दैन।”
कविको निधनपछि उनका दुई छोरीहरू जेठी पुण्यप्रभा र कान्छी कुन्तिमध्ये जेठी छोरी परिवारसहित लामो समय त्यसै घरमा बसे। कवि भने घरमा एक्लै बस्न रुचाउँथे। तर उनका सन्तान भने गाउँ समाजसँग घुलमिल भएर बसे।
स्थानीय कमल साहका पिता कवि लेखनाथको खेतबारीमा काम गर्थे। कविकी जेठी छोरीको परिवारले खेती गर्न ‘रसियन’ ट्याक्टर किनेर ल्याएपछि साह ड्राइभर भएका थिए। “कसैले ट्याक्टर चलाउन जानेको थिएनन्। मैले चलाउन सिकेँ,” उनले भने, “अनि मैले २२ वर्षसम्म ट्याक्टर ड्राइभर भएर काम गरेँ,।”
लेखनाथले कवि शिरोमणि उपाधिसँगै १५० बिगाह जमिन पाएका थिए। उनलाई २००८ सालमा उक्त उपाधि दिइएको थियो। उनी पर्सामा रहेको बिर्तामा आउजाउ गरिरहन्थे।
२०१० सालतिर अहिलेको घरभन्दा दुई किलोमिटर दक्षिणपूर्व सेढवा नजिक उनको बसाइँ थियो। सात/आठ वर्ष त्यहाँ बसोबास गर्दा एउटा गाउँ नै विकसित भयो। नयाँ बस्ती भएकाले त्यो ठाउँको नामै ‘नयका टोला’ अर्थात् नयाँ टोल रहन गएको छ। त्यसै साल उनको प्रसिद्ध कृति ‘तरुण तपसी’ प्रकाशित भएको हो।
गाउँमा प्रचलित भनाइ छ ‘त्यहाँको पानी लेखनाथ साहेबलाई मन परेन।’ एक हिउँदमा पर्सा आइपुगेका उनले उत्तर जंगलछेउतिर मान्छेहरू खटाएर विभिन्न कुवा, इनारका पानी मगाएर चाखे। एउटा मूलको पानी असाध्य स्वादिष्ट लाग्यो। चालक साह आफ्ना पिताको मुखबाट सुनेका कुरा भन्दै थिए, “त्यसपछि उनी यता बसाइँ सरेका हुन् रे।”
मध्यान्ह–बेला छ पला–पलामा
चुहुन्छ खाली पसिना थलामा
पल्टी तताएँ भरिसक्य खाट
भएन निन्द्रासित भेटघाट
उठ्दै र बस्तै फिर लोटपोट
गरी सुकाई मुख, कण्ठ ओंठ
अहिलेको दरबार २०१८ सालमा तयार भएपछि उनी बसाइँ सरेका हुन्। उनले शुरूमा बसालेको बस्ती अहिले ठूलो गाउँ भइसकेको छ ‘नयका टोला’। पर्साको देहातमा उपत्यकाका तीन ठाउँ काठमाडौँ, ललितपुर र वसन्तपुर भन्ने गाउँको नाम पनि छ । यो नाम भित्रिनुको पछाडि कविकै पहल थियो भनिन्छ।
माओवादी द्वन्द्वका बेला २०५९/६० तिर पर्सा जिल्ला पनि प्रभावित बन्यो। त्यस अघिसम्म कविका तेस्रो पुस्ताको आउजाउ चलिरहेको थियो। द्वन्द्व चर्केपछि आउनै छाडेको स्थानीय बताउँछन्।
कवि परिवारकै सदस्य सरहका साहको सम्झनामा, पुस–माघको महिना थियो। २०२० सालतिर कविको देब्रे आँखा मोतियाविन्दूले छोप्यो। २०२२ सालमा अन्तिम पटक उनी बनारस जाने योजनासहित पर्सास्थित काठमाडौँ आएका थिए। यहीँबाट बैलगाडामा जाँदै गर्दा सीमावर्ती भारतीय सहर रक्सौल पुगेपछि बिसञ्चो भए र फर्किए।
उनकै इच्छाअनुसार चितवनको देवघाट लगियो। २०२२ फागुन ७ गते शिवरात्रिका दिन ८२ वर्षको देह देवघाटमा सधैँका लागि बिसाए। जीवनको अन्तिम समयमा उनी मधेश घरसँग नजिक रहे।
कवि तथा नाट्यकार बालकृष्ण सम लेख्छन्, "नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृत जतिकै उच्च संस्कृत बन्यो।"
कवि लेखनाथको कृति तरुण तपसीको भूमिकामा समको विचार छ, "लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो। उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन् परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन्।"
नैतिकता, बौद्धिक र दार्शनिक भावले भरिपूर्ण उनका कविताका पंक्तिहरू कालजयी बनेका छन्। तरुण तपसी,लालित्य भाग १/२, ऋतु विचार, बुद्धिविनोद, सत्यकलि संवाद, गीताञ्जली, मेरो राम, भर्तृहरि निर्वेद, लक्ष्मी पूजा आदि उनका प्रसिद्ध कृतिहरू हुन्।
कवि शिरोमणि लेखनाथलाई २०११ सालमा रथमा राखेर अभिनन्दन समर्पण गरिएको थियो। उस बेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि रथ तानेका थिए। राजा महेन्द्रले तत्कालीन रोयल नेपाल एकेडेमीमा पनि राखेका थिए।
"लेखनाथले नेपाली भाषाको ऋण तिरे तर यो कुरा कविको कानमा नपरोस्, कविलाई चाहिँ लागोस्–‘ म अझै ऋणी छु।’ उनी त्यो वृक्ष जस्तो बनून्, जुन नढली फल दिन छोड्दैन," सम लेख्छन्, "हामी रस्वादन गर्न पाइरहौं उनी चाहिँ सदैव हरियो, तरुण र चिरञ्जीवि होऊन्।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
