खाने विषयमा कट्टरता देखाउँदै 'म्लेच्छ'ले छोएको नखाने जंगबहादुरले लरा बेलजस्ता 'म्लेच्छ' महिलासँगको हिमचिम र लसपस भने बारेनन्। उनले नेपाल फर्कँदा 'पतिया' पनि लिएनन्।
जंगबहादुर राणा त्यत्तिकै शक्तिशाली बनेका होइनन्। उनी आफ्नो समयको अन्त्यतै धूर्त राजनीतिज्ञ थिए। अत्यन्तै योजनाबद्ध रणनीतिसहितका बहादुर सैनिक थिए। परिस्थितिलाई हिसाब–किताबका साथ विचार गरेर गोटी चाल्न सक्ने खतरनाक र सफल षड्यन्त्रकारी थिए। तत्कालीन शक्तिशाली महारानी राज्यलक्ष्मीलाई काशी बास गराउने उनले राजा राजेन्द्रलाई नजरबन्दमा राखिसकेपछि राजा बनेका सुरेन्द्रलाई आफ्नो सम्धि बनाउनुका साथै राजालाई 'खोपाको देउता' बनाइ राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा खिचेका थिए। घरेलु मामिलामा चतुर खेलाडी उनले 'कहिल्यै घाम नअस्ताउने देश'का रूपमा उति बेला स्थापित बेलायती शासकको समेत मन जितेका थिए।
देशको शक्तिशाली प्रधानमन्त्री भएको तीन वर्षपछि उनले बेलायत भ्रमणको अवसर प्राप्त गरेका थिए। त्यस भ्रमणमा उनले राजा सुरेन्द्रको 'खलिता पत्र' बेलायतकी महारानी भिक्टोरियासमक्ष चढाएका थिए। उनलाई नेपालको राजदूतको हैसियतमा बेलायतमा स्वागत गरिएको थियो। उनी बेलायतका लागि विसं. १९०६ माघ ४ गते आफ्ना विश्वासिला दुई भाइ कर्णेल जगत् शमशेर र कर्णेल धीर शमशेरका साथ अन्य सैन्य अधिकारी, वैद्य, कलाकार, चार भान्छे, १० घरेलु नोकर र १० जना अन्य सहायकहरूका साथ नेपालबाट बेलायत प्रस्थान गरेका थिए।
जंगबहादुरको बेलायतलगायत युरोप भ्रमण राजनीतिक हिसाबले पनि महत्त्वपूर्ण थियो। उनले व्यक्तिगत रूपमा विदेशमा रहँदा खुब मोजमस्ती गरे। त्यहाँकी एक सुन्दरी लरा बेलसँग गरेको 'मोज मस्ती' त्यस बेला निक्कै ठूलो चर्चाको विषय भएको थियो। ती सुन्दरीसँगको मोज मस्तीमा उनले ठूलो धनराशि खर्च गरे। यो लेखमा जंगबहादुरको त्यहीँ महँगो 'रति क्रीडा'बारे चर्चा गरिएको छ।
बेलायत पुग्ने पहिलो नेपाली
बेलायत पुग्ने पहिलो नेपालीका रूपमा जंगबहादुरलाई चित्रण गर्ने गरिएको छ। यो सत्य होइन। उनीभन्दा अघि नै एक नेपाली बेलायत पुगिसकेका थिए। तत्कालीन मुख्तियार भीमसेन थापाले आफ्नो पतन हुनुभन्दा केही वर्षअघि आफूले जीवनभर वैरी मानिआएको तत्कालीन इष्ट इन्डिया कम्पनीसँग सुमधुर सम्बन्ध कायम गर्ने ध्येयले आफैँ बेलायत जाने इरादा राखेका थिए, तर उनको अभिलाषा पूरा हुन सकेन। त्यसपछि आफ्ना भतिजा माथवरसिंह थापालाई उनले बेलायत पठाउन दलबलसाथ बिदा गरिसकेका थिए। माथवर सिंह थापा नेपालको प्रतिनिधिका रूपमा आफ्ना अनुयायीहरूका साथ भारतको तत्कालीन राजधानी कलकत्तासम्म पुगेर त्यहाँका अंग्रेज अधिकारीहरूसँग भेटघाट र शिष्टाचार गर्दै रहे तापनि बेलायतबाट राजकीय सम्मान हुने खालको निमन्त्रणा नपाएपछि साधारण यात्रुसरह भएर जान नचाही त्यहीँबाट फर्की आए (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२:१०४)। नेपालीका तर्फबाट बेलायत भ्रमण गर्ने पहिलो प्रयास थियो त्यो।
भीमसेन थापा बेलायत जानेबारे भारतबाट त्यतिखेर प्रकाशित हुने अखबारहरूले पनि चर्चा गरेका थिए। विसं. १८९२ मंसिर १० आइतबार भारतबाट दक्ष शाहले भीमसेन थापालाई लेखेको पत्रमा ‘नेपालबाट जनरल साहेब बेलायत जान्छ भन्या छापा खबर लेखी आइरहेछ खबर निस्तुक हो कि भनी सोध्यो हो...’ भन्ने उल्लेख छ (नेपाल, २०५२:१२०–२१)। भीमसेन थापाले आफ्नो प्रतिनिधिका रूपमा बेलायत पठाउने भनी कलकत्तासम्म पुगेर फर्किएका टोलीमा माथवर सिंह थापाका साथ रणउज्ज्वलसिंह थापा, रनजोर थापा, सुरतसिंह पन्थ, फौदसिंह थापा, लोकरमण उपाध्या, लक्ष्मीदास, डिल्लीसिंह बस्न्यात, गम्भीरसिंह अधिकारी, शिवनारायण र जंगबहादुर कुँवर रहेका थिए (नेपाल, २०५२:१२२)। त्यसरी हेर्दा नेपालको प्रधानमन्त्री नहुँदै भीमसेन थापाकै समयमा जंगबहादुर राणा आफ्ना मामा माथवरसिंहका साथ बेलायत जाने टोलीमा परेका थिए भन्ने देखिन्छ।
प्रामाणिक रूपमा बेलायतमा पहिलो पाइला हाल्ने नेपाली भने मोतीलाल सिंह हुन्। उनका बारे लेखिएका सामग्रीहरू हेर्दा भने उनी एक प्रकारले अवैध रूपमा बेलायत छिरेको देखिन्छ। एक पानी जहाजको क्याप्टेनको कुरा सुनेर जहाज चढी उनी त्यसतर्फ गएका थिए।
मोतीलालको सीप, ज्ञान र क्षमता जे भए पनि उनी बेलायतमा सडक बढार्ने कुचीकार थिए। भिक्टोरिया सरकारको पालामा लन्डन सहरमा छ्यापछ्याप्ती माग्नेहरू भेटिन्थे। तर, त्यसै माग्नुभन्दा मानिस ओहोरदोहोर गर्नेको बाटो सफा गरेर मन जितेर माग्नु राम्रो मानिन्थ्यो, त्यस बेला। भादगाउँमा जन्मिएका मोतीलाल नेपालको तर्फबाट नेपाल–अंग्रेज युद्धमा लडेका योद्धासमेत थिए। बेलायतमा उनले जंगबहादुरलाई भेट्दा उनी ५६ वर्षका थिए। युद्धमा नेपालको हार भएपछि उनले युद्ध बन्दी हुँदै अंग्रेज सेनामा पनि काम गरे। त्यही बेला उनले अंग्रेजी भाषा सिके। उनका बारे त्यस बेलाका प्रख्यात अंग्रेजी अखबारहरूले लेखेका थिए। उनी सुन बटुल्ने लोभले बेलायत पुगेका थिए, तर त्यहाँ उनको त्यहाँ बेहाल भयो। आफूसँग भएको पैसा पनि गुमाए। भोकै लन्डनका चिसा छिँडीहरूमा समय बिताउनुपर्यो। बेलायतमा अचानक नेपालका प्रधानमन्त्री जंगबहादुर र उनका सहयात्रीहरू भेट्दा उनी आश्चर्यचकित भएका थिए (डा. कृष्णप्रसाद अधिकारी, ‘बेलायतमा पहिलो नेपाली मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’–२०६९:३–५)।
बेलायत भ्रमणमा निस्किएका नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुरलाई भेटेपछि बिजोग अवस्थामा बेलायतको सडकमा जीवन बिताउँदै गरेका मोतीलालको भाग्य एक्कासि चम्कन पुग्यो। उनले आफ्नो संस्मरणमा पनि सो विषय उल्लेख गरेका छन्।
उनले जंगबहादुरसँगको भेटका बारेमा यस्तो लेखेका छन्: म राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा भादगाउँमा जन्मेको हुँ। म २० वर्षको हुँदा राजाले दक्षिणको विशाल राज्यविरुद्ध लड्ने घोषणा गरे। हामी पहाडका, त्यति तल गएर लड्दा जित्न सकेनौँ। अन्तिम लडाइँमा म युद्ध बन्दी बनाइएँ। पछि तिनै अंग्रेज सेनामा भर्ना भएँ। रहँदा-बस्दा कलकत्तामा शूद्र केटीसँग विवाह गरेँ। तर एउटा पानीजहाजको क्याप्टेनले देखाएको सुनको लोभमा परेर लन्डन आइपुगेको छु। लन्डनको चिसो सडकमा भोकै प्यासै भगवान् भरोसामा दिन काट्न थालेँ। अन्ततः सेन्ट पल चर्चको सडक बढार्ने काम पाएँ। बढारेबापत आउने थोरै पैसाले गुजारा चल्थ्यो। समुद्रमा बगेको एउटा मुढोले अर्को मुढो भेट्दो रहेछ। एक दिन मेरै मुलुकबाट आएका महाराज जंगलाई भेटेँ। उनैका कारण म रंकबाट यस्तो अवस्थामा आइपुगेको छु। एक दिन घर फर्कने मेरो सपना साकार हुने भयो। मेरो देशमा मेरी श्रीमती मलाई पर्खिरहेकी होली (डा. विश्व पौडेल ‘हिमाल’ वर्ष २० अंक १०–भदौ २०६७:१०–११।
जंगबहादुरको बेलायत भ्रमणमा मोतीलालले दोभासेको काम पाएर भाषामा सहजीकरण गरे। त्यसबापत सम्भवतः जंगबहादुरबाट उनले प्रशस्तै बक्सिस वा पारिश्रमिक पाए। त्यसबारेमा त्यहाँबाट प्रकाशित हुने ‘दी इकोनोमिस्ट’ले आफ्नो सन् १८५० जून १ को अंकमा ‘यी हिन्दु कुचीकारको महामहिम नेपाली राजदूतले उद्धार गरेर भाग्य चम्किएको छ। नेपाली टोलीको करिब दुई महिनाको बसाइँभरि उनी दोभासे बने। यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन्। तर, पूर्वपरिचितहरूलाई भेट्दा भने असहज मान्छन्’ भनी उनको बारेमा समाचार सम्प्रेषण गरेको थियो (अधिकारी, २०६९:६)। यसबाट पनि जंगबहादुरले मोतीलालको जीवनस्तर नै परिवर्तन हुने गरी ठूलो उद्धार गरेको स्पष्ट हुन्छ।
जंगबहादुरको लरासँग पहिलो आँखा जुधाइ
जंगबहादुरको स्वागतमा बेलायतमा नाचगानको आयोजना गरियो। त्यही क्रममा एक साँझ उनले बेलायतकी एक षोडशी तरुनीसँग भेट गर्ने अवसर प्राप्त गरे। उनको नाम थियो, लरा बेल। स्त्री मोहमा हुरुक्क हुने जंगबहादुर नाट्यशालामा उनलाई देख्नासाथ पुलकित नहुने कुरै भएन। लरा बेलसँगको भेटमा दोभासेको रूपमा खटिएका मोतीलालले नै यी दुईबीच सहजीकरण गरिदिए। भेटमा जंगबहादुर र लरा बेल आँखाको भाकाले बोलेका थिए। मोतीलालले लराबारे सोधी खोजी गरेर जंगबहादुरलाई सघाएका थिए।
मोतीलालले लेखेको संस्मरण-लेखमा जंगबहादुरको लाउरा बेलसँगको पहिलो भेटको प्रसंग पनि परेको छ। उनले जंगबहादुर र लरा बेलको पहिलो भेट वा आँखा जुधाइबारे जीवन्त उल्लेख गरेका छन्। जो यस प्रकार छ:
नाट्यशालामा मन्त्री (जंगबहादुर) र उनका भाइहरू महिलाहरू आफू नजिकै आएर घेर्दा आनन्द मान्छन्। यिनीहरूमध्ये कामदेवकै छोरीजस्ती लाग्ने एउटीले सबैको ध्यानकर्षण गरिन्। हामीहरू दोभासे साहिबलाई उनी को होलिन् भनेर सोध्छौँ। तर, लरा भर्खरै मात्र बेलायत फर्केकोले दोभासेले तिनलाई चिन्न सकेनन्। मलाई सोधपुछको लागि पठाइन्छ र मैले ‘बक्स किपर’सँग गएर जिज्ञासा राख्दा उनको नाम लोराबेल (लरा बेल) भएको पत्ता लगाउँछु। यो महामहिम मन्त्री (जंगबहादुर) लाई बताएपछि उनी हँसिलो अनुहारमा भन्छन्,‘महिलाको नाम टाढाको मन्दिरमा बज्ने सुनौलो घण्टीको आवाजजस्तो मधुर र कर्णप्रिय हुनुपर्छ।’ त्यसपछि खुशीपूर्वक उठ्दै उनले आफ्नो हातमा भएको नीलो र सिन्दुरे किनारा भएको रुमाल त्यो गोरीतिर फर्काएर हल्लाउँछन्। आफ्ना मोतीजस्तै चम्किला दाँत देखाउँदै ती परीले प्वाँखजडित पंखालाई हल्लाउँदै आफ्ना प्रशंसकप्रतिको प्रसन्नताको भाव र स्वीकृतिको अभिव्यक्तिमा धेरै पटक टाउको हल्लाउँछिन्। यसलाई हामी एउटा सुखद अनुभूति र महामहीम मन्त्रीप्रतिको शुभ संकेतको रूपमा लिन्छौँ। उनले पनि दोभासे साहिबलाई आफू निक्कै प्रफुल्ल भएको घोषणा गर्छन् र यो सुनेर दोभासे अंग्रेजको लवजमा हाँस्दै (जंगबहादुरलाई) अब ठूलो थैली खोलेर उदार हातहरूले धन छर्ने मन बनाइराख्नुहोस् है भन्छन् (अधिकारी, २०६९:३०–३१)।
लाउरा बेल त्यसबेला बेलायतमा नाम चलेकी सुन्दरी थिइन्। पुरुष पट्याउन उत्तिकै माहिर। जंगबहादुरलाई भेट्नुअघि डब्लिनका कवि ओस्कर वाइल्डका बुवा डा. विलियम वाइल्डसँग लराको उठबस थियो। उनी ठूलाबडालाई प्रयोग गरेर पैसा जम्मा गर्न साह्रै पोख्त थिइन् भनिन्थ्यो। उनी आयरल्यान्डमा जन्मेकी थिइन्। जंगबहादुरभन्दा १२ वर्ष कान्छी थिइन्। उनी जति सुन्दरी थिइन्, उति नै फुर्मासिली र सौखिन पनि। जंगबहादुरलाई भेट्नुअघि उनी वेलफास्ट र डब्लिनमा काम गरेर भर्खरै लन्डन आइपुगेकी थिइन्। घोडा चढ्न सिपालु उनी बिहानै घोडा चढेर हाइड पार्कका राटन रोमा जान्थिन्। ठूलाबडाको आँखा उनको सुन्दरतामाथि गढ्थे। उनी २१ वर्षकै उमेरमा धनी भएकी थिइन्। उनले प्राय: शक्तिशाली मानिससँग आफ्नो पहुँच बढाएकी थिइन्। जंगबहादुर स्वदेश फर्केको दुई तीन वर्षपछि उनको एक खानदानी क्याप्टेन थिसल्ध्वायेटसँग विवाह भएको थियो। सन् १८८७ मा उनको पतिको निधन भएपछि उनी बेलायती प्रधानमन्त्री ग्ल्याडस्टोनको घनिष्ठ साथी भएकी थिइन्। पछि उनी ‘फ्री चर्च’को रिभाइभल सर्भिसमा प्रवचन दिन थालिन्। सुरुमा त उनलाई लिएर पादरीहरूले नाक खुम्च्याएका थिए। तर उनी ‘स्टार’ थिइन्, उनलाई हेर्न र सुन्नकै लागि मानिसहरू आउँथे (विश्व पौडेल, ‘हिमाल’ वर्ष १९ अंक १५–मंसिर २०६६:८०)।
अति महँगो रति क्रीडा
जंगबहादुर राणा नाम चलेका स्त्री आशक्त पुरुष थिए। त्यसमा पनि उनी विविध जातिका स्त्रीसँगको सम्पर्कमा रमाउँथे। उनका ब्याइता र ल्याइता गरी घोषित ४२ जना त रानीहरू मात्र थिए। उनले बेलायत जानुअघि नै अंग्रेज महिलाप्रतिको मोह राखेका थिए। त्यसबारे उनी प्रधानमन्त्री भएपछि उनले आफ्ना सैन्य कर्मचारीलाई 'राम्री केटी खोजी आफूकहाँ पठाइदिन' गरेको आदेशबाट पनि पुष्टि हुन्छ। इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको ‘जंगबहादुरले राम्री केटी खोजी ल्याउन सुबेदार मन्नु सिंहलाई लेखेको अप्रकाशित पत्र’ पढ्दा यसबारे थाहा हुन्छ। पत्रमा लेखिएको छ:
संं. १९०४ वैशाषसुदि ७ रोज ४ श्री प्राइममिनिष्टर यान्बाट सुवेदार मन्नुसीके षबसुरत अंगरेजी विवीमाफिक्का केटि २।३ मैन्हाभीत्रमा तैले ल्याउन सकिस् भन्या तेरो दर्जा पनि बढाइदिउला. मुनासीव माफीक्का केटिलाई ल्याउदामा लाग्याको षर्च पनि मिनाह लिदउला अंकृत गरीकन ल्याउन सकुला भन्या षोजन पनि जा देस देसको षै षबर पनि लषद गर सक्तिन भन्छस् भन्या असवावका साथ लागी आउन्या काम गर. शुभम् (पन्त, ‘पूर्णिमा’ पूर्णांक ८९–मंसिर २०५३:५१)।
बेलायत भ्रमणका क्रममा अंग्रेज स्त्रीहरू देखेपछि जंगबहादुरका साथमा गएकाहरूले उनीहरूको बारेमा गरेको बयान पनि बडो गजबको छ। बेलायत जाने क्रममा सातौँ दिन माल्टा पुग्दाको बयानका क्रममा लेखिएको छ:
...अति सुन्दर जनानाहरू पनि आइ षचीत् भयाका भारी गहना, पोसाक लायाका चंद्रमा विच जस्ता मुष, तेल्का धारा जस्ता नाष, कपाल्ज जस्तो नेत्र भयाका अति सुन्दरी जो देष्यो उस्तै...(कमल दीक्षित (सम्पा.), ‘जंगबहादुरको बेलाइत यात्रा’–२०१४:१२)।
वास्तवमा जंगबहादुरले चन्द्रमाजस्तो अनुहार र तेलको धाराजस्तो नाक भएकी लरा बेलसँग बेलायत बस्दासम्म अत्यन्तै घनिष्ठ सम्बन्ध राखेका थिए। लरा बेलसँग भेट भएपछि जंगबहादुर साह्रै खुशी भएका थिए। लरासँग यिनको निक्कै 'उठबस र रसबस' भयो। लराको सम्बन्ध भारतसँग पनि भएकोले यिनी टाकटुक हिन्दी पनि बोल्न सक्थिन्। बेलायतमा हिन्दीमा कुरा गर्ने केटी भेटेपछि जंगबहादुर साह्रै खुशी भए र यिनीसँग मित्रता बढ्यो। बेलायत बस्दा जंगबहादुरले सार्वजनिक स्थलमा कहिल्यै मदिरा लिएनन्, तर लरा बेलजस्ता केटीसँग उठबस गर्दा भने मदिरा पान पनि गरे (प्रमोद शमशेर राणा, ‘राणा शासनको वृत्तान्त’ (२०७०:५५–५६)।
बेलायत यात्राका क्रममा सन् १८५० जुलाई २५ र २६ मा जंगबहादुरले लाउरा बेललगायत केही मन परेका तथा अन्य युरोपियन मित्रहरूलाई समेत आफू बस्ने रिचमन्ड टेरेस निम्त्याई त्यहाँ पुनः नाचगानको आयोजना गरी सुरापान र भोजसमेतको आयोजना गरे। केही दिन जंगबहादुरलाई सञ्चो भएन। उनीसँग समय व्यतीत गरेकी लाउरा जंगबहादुरको न्यास्रोपन हटाउन बीच–बीचमा उनीकहाँ आउने गर्थिन्। रानी भिक्टोरियासँग बिदाइ भेट गरेपछि उनीहरू रिचमन्ड टेरेस फर्के, जहाँ जंगबहादुरसँग बिदा हुन धेरै व्यक्तिहरू पर्खिरहेका थिए। पर्खनेमा जंगबहादुरकी अति घनिष्ठ लरा बेल पनि थिइन् (पुरुषोत्तम शमशेर राणा, ‘श्री ३ हरूको तथ्य वृत्तान्त’–२०६५:७३–७५)।
लरासँगको जंगबहादुरको त्यो उठबसबारे अखबारहरूमा पनि चर्चाको विषय हुन पुगेको थियो। ‘ब्रिस्टल टाइम्स’ले आफ्नो अगस्ट १७, १८५० को अंकको पृ. २ मा ‘द नेपाउल प्रिन्सेस’ शीर्षकमा यसबारे समाचार पनि प्रकाशित गरेको थियो। समाचारमा ‘ओपेरामा नेपाली प्रशासक (जंगबहादुर)का लागि छुट्टाइएको क्याबिनमा ती प्रशासकका साथ ती युवतीको उपस्थितिले उनको निक्कै बदनाम भएको थियो। ती महिलाको नाम लरा बेल हो।’
खर्च विवरण
बेलायती लेखकहरूका अनुसार जंगबहादुरले तीन महिनामा लरामाथि साढे दुई लाख पाउन्ड खर्च गरेका थिए। जंगबहादुरको सबै भ्रमण टोलीका लागि जम्मा तीस हजार पाउन्ड खर्च लगिएको थियो। उनले पछि ती सबै पैसा देशकै लागि खर्च गरेको स्पष्टीकरण दिएका थिए। बेलायती लेखकहरूले त्यो पैसा इष्ट इन्डिया कम्पनीले भर्पाई गरिदिएको थियो भनीसमेत लेखेका छन्। लराको प्रेममा परेका जंगबहादुरले लन्डन भ्रमणको अन्त्यमा ‘केटाहरू हो, तिमीहरू जाओ र मलाई नेपाल गएर पैसा पठाइदेओ, म यहीँ एक दुई वर्ष राजदूत भएर बस्छु’ भनेर आफ्ना भाइहरू धीरशमशेर र जगतशमशेरलाई भनेछन् (पौडेल, मंसिर २०६६:८०)। तर, भ्रमण दलका सदस्यहरूले ‘हजुर नभए नेपालमा अरूले राजकाज सम्हाल्न सक्दैनन्’ भनेर नेपाल फर्कन मनाएका थिए।
जंगबहादुरले आफ्नो स्वागत गर्ने सुन्दरीहरूका लागि रुपैयाँ छरेको प्रसंग ‘जंगबहादुरको बेलाइत यात्रा’मा परेको छ। एक प्रसंगमा ‘तमासामा दुनीयाहरू ताजुब् मानी भुलिरह्याका थिया। अकसमात्मा ३०/४० वरिपरि इंद्रका अपसरा जस्ता आई षडा हुँदा बडो आस्चर्य भयो। क्या अर्थ भन्या उनको रूप, पोसाक देषदा सबैलाई मोह गरायो। तेस नाचका रिझमा १५ सये रुपैयाँ श्री मीनीष्टर साहेववाट् इनाम् वकस्नुभयो’ भन्ने परेको छ (दीक्षित, २०१४:३५)।
जंगबहादुरले त्यो समय लाउरा बेलमाथि मात्रै साढे दुई लाख पाउन्ड खर्च गरे भन्ने जुन चर्चा छ, त्यो सानो रकम होइन। त्यो बेला त्यति पैसाको मूल्य अत्यन्तै ठूलो थियो।
जंगबहादुरको बेलायत भ्रमणका बेला उनले व्यक्तिगत रूपमा सरकारबाट कति तलब खान्थे, यसबारे ठ्याक्कै यही भन्ने तथ्यांक लेखकले प्राप्त गरेको छैन। तर त्यसको तीन वर्षपछि अर्थात् विसं. १९१० तिर उनले पाउने गरेको तलब भने महेश सी. रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ८, अंक १ डिसेम्बर १९७६ : १६–१९ मा प्रकाशित गरेका छन्। जंगबहादुर लगायत केही राणाहरूको पाउने गरेको त्यस बेलाको तलबमान यस्तो छ:
प्रधानमन्त्री जंगबहादुर कुँवर राणा — रु. ८३,६२०/—
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा — रु. ३२,६१३/—
जनरल कृष्णबहादुर कुँवर राणा — रु. २२,०७२/—
जनरल रणोद्विप सिंह कुँवर राणा — रु. २२,४१०/—
जनरल जगतशम्शेर कुँवर राणा — रु. २१,०९७/—
जनरल धीरशम्शेर कुँवर राणा — रु. २१,८५३/—
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा — रु. १९,००१/—
त्यो समय जंगबहादुरका छोरा जगतजंग कर्णेल थिए। उनले बुझ्ने गरेको वार्षिक तलब रु. १६,७१२/— रुपैयाँ थियो। यस्तै जंगबहादुरका छोराहरूमध्ये कर्णेल भीमजंगले रु. ८,५६७/— र कर्णेल जीतजंगले रु. ९०००/— वार्षिक तलब बुझ्ने गरेको देखिन्छ। यस्तै कप्तान फत्तेजंग र बबरजंग दुवैको रु ५००१/— तलब थियो। त्यस समयको तलब मासिक नभएर वार्षिक हुन्थ्यो। त्यो जमानामा जंगबहादुरले खाने गरेको तलब सानो रकम हुँदै होइन।
‘रेग्मी रिसर्च सेरिज’ वर्ष ८, अंक १ (डिसेम्बर:१९) ले सन् १८५२ (वि.सं. १९०९) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्य दर पनि प्रकाशमा ल्याएको छ। त्यो समयको खाद्यवस्तुको मूल्य दरअनुसार जंगबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निक्कै ठूलो हुन आउँछ। त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो। यस्तै एक रुपैयाँमा मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। त्यस समयमा एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।
लखनउ विद्रोह दबाउन लराको प्रेरणा?
इष्ट इन्डिया कम्पनीविरुद्ध सन् १८५७ मा भारतको मेरठबाट फैलिएको सैनिक विद्रोह दबाउन नेपालका तर्फबाट जंगबहादुर आफैँ अग्रसर भएका थिए। उनलाई आफू मातहतका सैन्य अफिसरको नेतृत्वमा नेपाली सैनिक पठाएर मात्रै चित्त बुझेन। जंगबहादुर आफैँ आफ्ना विश्वासिला भाइहरूसहित अंग्रेजको सेवा गर्न भारत पुगे। देशको एउटा शक्तिशाली प्रधानमन्त्री अर्को देशको आन्तरिक विद्रोह दबाउन सैन्य नेतृत्व गर्दै पुग्नु संसारमा विरलै हुने घटनामध्ये पर्छ।
वि.सं. १९१४ को असारमा कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा ६ हजार सैनिक भारत पठाएर चित्त नबुझाएका उनी स्वयम् प्रधानसेनापतिको हैसियतले १४ हजार सेना र आफ्ना भाइहरूसमेत लिएर माघको अन्तिम साता भारत प्रस्थान गरे। भारतको सैनिक विद्रोह शान्त पारेर वि.सं. १९१५ वैशाख १३ गते नेपाल फिर्ता भए (जबरा, २०६५:११२–११८)। अंग्रेजलाई सघाइ रिझाउन जंगबहादुरले देशको कुनै वरिष्ठ सैन्य अधिकारीको नेतृत्वमा त्यहाँ सैनिक सहयोग पठाउन सक्थे। तर आफैं नेतृत्व गरी विद्रोह दबाउन त्यसतर्फ अग्रसर भए। यसमा बेलायत भ्रमणताकाकी उनकी प्रेमिका लाउरा बेलको प्रेरणा वा वचन रहेको थियो भन्ने चर्चा लाउराकै जन्मस्थानतिर चल्ने गरेको छ।
लाउराको जन्मस्थान आयरल्यान्डको लिस्बर्नमा उनको अझै चर्चा हुने गर्छ। भन्नेले केसम्म भन्छन् भने जंगबहादुरले उनलाई छोड्ने बेलामा एउटा औँठी दिएर तिमीलाई केही पर्यो भने यो औँठीसहित मलाई खबर पठाऊ, तिम्रो कुरा काट्दिनँ भनेका थिए रे ! जब भारतमा सिपाही विद्रोह भयो, उनले बेलायतका युवराजलाई त्यो कुरा बताउँदै 'जंगलाई मैले सहयोग गरभन्दा कुरा काट्दैन' भनेकी थिइन् र त्यसैले जंगले ब्रिटिसलाई सहयोग गरेका हुन् रे ! (पौडेल, मंसिर २०६६:८०)।
लखनउ विद्रोह दमनका लागि अंग्रेजलाई सघाउन जानुमा जंगबहादुरलाई लाउरा बेलको प्रेरणा थियो भन्ने कुनै प्रामाणिक कुरा त होइन, चर्चासम्म मात्र हो। तर लखनउ विद्रोह दमनका सिलसिलामा जंगबहादुरले जुन पौरख र सौर्यका साथ अंग्रेजको मन जिते, यसले नेपाललाई चाहिँ फाइदा नै गर्यो। उनीसँग खुशी भएर सुगौली सन्धिमार्फत नेपालले गुमाएको विशाल भूभागमध्ये एउटा टुक्रा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भने अंग्रेजबाट नेपालले फिर्ता पायो। ‘नयाँ मुलुक’ भनिने यो भूभाग नेपालले वि.सं. १९१६ जेठ असारमा प्राप्त गरेको हो। यसलाई जंगबहादुरको समयको ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ (जबरा, २०६५:१२२)।
यदि लखनउ विद्रोह दमनका लागि जंगबहादुरलाई साँच्चै नै लरा बेलको प्रेरणा थियो भने सुगौली सन्धिमा गुमेको भूभाग पुनः प्राप्तिका लरालाई धन्यवाद दिनै पर्छ।
खाना बार्ने 'स्त्री लसपस' नबार्ने!
जंगबहादुर कट्टर हिन्दू थिए। बेलायत जाँदा पनि आफ्नो हिन्दुत्व व्यवहारबाटै प्रदर्शन गरे। कतिसम्म भने पानी जहाजको यात्रामा पनि गाई आफैँ दुहुन्थे, छोइछिटो हुन्छ भनेर उनले आफ्नो कट्टर व्यवहार अपनाएका थिए। उनको हिन्दुत्व झल्कने कट्टर व्यवहारका बारेमा ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०१४:८)मा लेखिएको छ,‘काम भन्या नजान्याको केही छैन। कुरा पनि बहुत हुंस्यहार, दीलका पनि बहु सुरा भयाका छन्। कुरा गलर्दामा भन्या सबैलाई मोह गराउने यस्तो मोहरूपी छन्। षादामा भन्या कसैलाई हेर्न दीदैनन, पानि छुनन् दीदैनन। केही मेवा, भाजी, तरकारि, फलफूल भडारबाट दीलाई लाटलुट होला भनि दीदा गर्छन्। गाइ पनि आफैं दुहंछन्।’
उनी अलेक्जान्ड्रियाबाट माल्टातर्फ यात्रा गर्दा 'रिपोन जहाज'मा चढेका थिए। आफू चढेको जहाजमा गाई काटेको थाहा पाएर उनको मनमा ठूलो झड्का लागेको थियो। उनी साह्रै रिसाए। उनले तुरुन्तै क्याप्टेन क्याबिनमार्फत जहाजभित्र यस्तो अवाञ्छनीय व्यवहार दोहोरियो भने आफूले त्यो जहाज छाडेर अर्को जहाज चढ्ने चेतावनी दिए। त्यसपछि क्याप्टेनले उनको हिन्दू दर्शनको सम्मान गर्दै उनी जहाजमा रहुन्जेल काई काट्ने काम बन्द गरिदिएका थिए (पद्मजंग राणा, ‘जंगबहादुरको जीवनयात्रा’–२०७४:११८)।
यस्तै, बेलायत पुगेपछि भन्सारमा जाँच गर्न खोज्दा उनले आफ्ना कुनै पनि सामानमा हात लगाउन दिएनन्। सन् १८५० मे २५ मा उनीहरू साउथ हृयाम्पटन बन्दरगाह उत्रिए। त्यहाँ भन्सार जाँच गर्न खोज्दा उनले ठाडै अस्वीकार गरी आफ्नो सामानको सुरक्षाको लागि नांगो खुकुरीका साथ ६ जना नेपालीलाई खटाए। उनले आफ्नो सामानको सानो मात्र टुक्रा छोए तत्कालै बेलायतको यात्रा रद्द गरेर अर्को जहाजबाट फ्रान्स यात्रामा जाने चेतावनी दिएपछि उनको सामान जाँच्न र खोलेर हेर्न नपाइने गरी भन्सारका कर्मचारीहरूलाई त्यहाँका हाकिमले निर्देशन दिएका थिए (राणा, २०७४:११९)।
यसरी खाने कुरामा हिन्दू-कट्टरता देखाएर 'म्लेच्छ'ले छोएको नखाने जंगबहादुरले लाउरा बेलजस्ता 'म्लेच्छ' महिलासँगको हिमचिम र लसपस बारेनन्। उनले नेपाल फर्कँदा पतिया (धर्माधिकारहरूबाट लिइने प्रायश्चित) पनि लिएनन्। यो विषयलाई लिएर उनी नेपाल फर्कनेबित्तिकै उनका केही भाइले उनलाई सत्ताबाट विस्थापित गर्ने मात्र होइन, उनको ज्यानै लिने योजनासमेत बनाएका थिए।
यस्तो योजना बुन्नेमा उनकै साथ बेलायत भ्रमणमा गएका लप्टन करबीर खत्री प्रमुख रूपमा सक्रिय थिए। उनैले जंगबहादुरले हिन्दू भएर पनि बेलायत र फ्रान्समा रहँदा त्यहाँका महिलासँग संसर्ग गरेको पोल खोलेका थिए। जातबाट बाहेक गर्न नसकिने हुँदा उनको हत्या नै गर्नु पर्ने निष्कर्ष निकाल्दै यस योजनामा सरिक हुन उनका भाइ बमबहादुरलाई पनि अर्का भाइ बद्रीनरसिंहको घरमा बोलाई किरिया खुवाइएको थियो। यस्तो पोल उनका भाइ बमबहादुरले थापाथली पुगी जंगबहादुरको कानमा पुर्याइदिए। पोल खुलेपछि जंगबहादुरले षड्यन्त्रमा सामेल हुनेहरूलाई आफ्नै अन्य विश्वासी भाइहरूका साथ पल्टन लगाएर पक्राउ गरे। उनीहरूलाई गरिने सजायका बारेमा बोलाइएको कचहरिमा उनीहरूमाथि विभिन्न सजायको माग भएको थियो। कसैले उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। कसैले तातो फलामले डाम्नु पर्ने, पिँजडामा कैद गरी औलो लाग्ने ठाउँमा राख्नुपर्ने, झुट कुरा बोल्नेको जिब्रो काटिदिनुपर्ने जस्ता माग राखे। उनीहरूलाई कस्तो खालको सजाय दिनुपर्ने भन्ने विषयमा ब्रिटिस-भारत सरकारको निर्णयको पनि प्रतीक्षा भयो। दुई महिनासम्म कुनै जवाफ आएन। त्यतिन्जेलसम्म उनीहरूलाई जेलमा राखियो र कम्पनी सरकारको जवाफपछि उनीहरूलाई इलाहावाद जेलमा पाँच वर्षको कैदको फैसला सुनाइयो। करवीर खत्रीलाई भने मुखमा पिसाब गर्न लगाइ, चार पाटा मुडी, जनै चुँडाली, सुँगुरको आन्द्राको माला बेर्न लगाई जातभातबाट वञ्चित गरी छोडियो (जबरा, २०६५:८७)।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
