बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा ल्याउन हतारिएको भन्दै क्यानमाथि नैतिक प्रश्न उठ्दा पार्टीदेखि नेताहरूसम्मले साँधेको मौनतालाई लिएर चिन्ता व्यक्त गरिएको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) माघ १८ गते बलात्कार गरेको अभियोग लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गर्यो। लगत्तै क्यानले लामिछानेलाई समेट्दै विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि खेलाडीलाई क्याम्पमा बोलाएको थियो। आगामी फागुन २ गते कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक शृंखलाका लागि माघ २० गते २० खेलाडीलाई क्यानले प्रशिक्षणमा बोलाएको हो।
नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई पुस १८ गते उच्च अदालत पाटनले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतबाट सफाइ नपाउँदै लामिछानेलाई राष्ट्रिय टिममा ल्याउन हतारिएको भन्दै क्यानमाथि नैतिक प्रश्न उठेको छ, सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ।
सामाजिक सञ्जालबाट विरोध गरिरहेकाहरू शनिबार भौतिक रूपमा जम्मा भएर माइतीघर मण्डलमा क्यानलाई निर्णय सच्याउन दबाब दिएका छन्। उनीहरूले शनिबार दिउँसो १ बजेबाट एक घण्टा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरे। क्यानको निर्णयमा सरकार, प्रमुख प्रतिपक्षी दल तथा नेताहरू मौन बसेको भन्दै उनीहरूले आपत्ति जनाए।

‘उता फिक्सिङ गराउने, यता आरोपितलाई क्याम्पसमा राख्ने क्यान मुर्दावाद’, ‘पीडितलाई लात, बलात्कार आरोपितलाई साथ?’, ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ लगायतका प्लेकार्डसहित उनीहरूले विरोध प्रदर्शन गरेका थिए।
“क्यानको निर्णयपछि हामी सामाजिक सञ्जालमा विरोध गरिरहेकाहरूले एउटा ग्रुप बनाएर आन्दोलनको योजना बनायौँ,” आन्दोलनमा सहभागी अन्विका गिरीले भनिन्, “हामीले कुनै समूह, संगठन बनाएका होइनौँ, आन्दोलनलाई एउटा स्वरूप दिन स्वतन्त्र ढंगले अघि बढाउनका लागि आह्वान मात्र गरेका थियौँ। यसमा कसैको पनि निहित स्वार्थ छैन।”
के भन्छन् सहभागी?
विरोध प्रदर्शनमा सहभागी दीप्ता आचार्य क्यानको कदमलाई अनैतिक मान्छिन्। दीप्ता आचार्य आफैँ पनि ‘सर्भाइभर’ हुन्। यस्ता घटनाको विरोधमा आफूलाई सर्भाइभरको प्रतिनिधिको प्रस्तुत गर्ने गर्छिन्। भन्छिन्, “जो समाजसामु आफूमाथि भएको घटनाबारे खुलस्त बोल्न, व्यक्त गर्न सक्दैनन्।“
उनले पछिल्लो समय युवापुस्तामा आफूमाथि भएका हिंसाका घटनाबारे बोल्नुपर्छ भन्ने चेतना बढ्दै गएको बताइन्। “आफूमाथि भएका हिंसाका विषयमा बोल्नुपर्छ भन्ने परिवर्तन किशोर–किशोरी वर्गमा आएको छ”, दीप्ता भन्छिन्, “नयाँ पिँढी सचेत भएका छन्। म त्यही नयाँ पिँढी हुँ। यसकारण पनि न्यायका लागि मैले आन्दोलनमा ऐक्यबद्धता जनाएकी हुँ।”

विरोध प्रदर्शनका अर्का सहभागी गणेश मैनाली आफूलाई क्रिकेटप्रेमीका रूपमा चिनाउँछन्। क्रिकेट संघको कदम उचित नभएको भन्दै विरोधमा उत्रिएको उनले बताए। बलात्कार आरोपी रहेका लामिछानेले सफाइ नपाएसम्म राष्ट्रिय टिममा राख्न नहुने उनको भनाइ छ। “उहाँले सफाइ पाउनु भयो भने सोही तरिकाले हामी उहाँलाई स्वागत गर्न तयार छौँ,” उनले भने।
सतुंगलदेखि विरोध प्रदर्शनमा सहभागी हुन माइतीघर मण्डल आइपुगेकी मिरा पोखरेल पार्टीदेखि नेताहरूसम्मले साँधेको मौनतालाई लिएर चिन्ता व्यक्त गर्छिन्। “यस्ता सामाजिक विषयमा गगन थापा, विश्वप्रकाश शर्मा सार्वजनिक अभिव्यक्ति दिने, सदनमा बोल्ने गर्नु हुन्थ्यो, उहाँहरू धेरै जोडबलपछि, सामाजिक सञ्जालमा यस विषयमा बोल्नु भएको छ”, उनले भनिन्, “त्यो पनि औपचारिकताका लागि मात्र भएको महसुस मलाई हुन्छ।”

विचाराधीन मुद्दाका विषयमा क्रिकेटको अभिभावकीय संस्थाले अदालतभन्दा माथि रहेर निर्णय लिएपछि विरोध उत्रिनुपरेको बताउँछन् अर्का सहभागी रवि तिल्मिसिना। यसबाहेक क्यानका निर्णयमा सुझबुझ नहुँदा गलत भविष्य निर्माण हुने उनको तर्क छ।
सामाजिक सञ्जालमा व्यापक विरोध भइरहँदा भौतिक रूपमा औसत उपस्थितिले प्रदर्शन फितलो देखियो कि भन्ने प्रश्नमा अन्विका गिरी भन्छिन्, “छोटो समयमा गरिएको आह्वानमा स्वतन्त्र रूपमा भएको उपस्थिति राम्रो नै मान्नु पर्छ। यसबाहेक भौतिक उपस्थिति मात्र नभई आन्दोलनका लागि आवश्यक ऊर्जा महत्त्वपूर्ण हुन्छ। जुन भौतिक र भर्चुअल दुवै तवरमा उल्लेखनीय छ।”
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
