सरकारबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

बिहीबार बसेको रास्वपाको बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार सकिएको छ। 

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको केन्द्रिय समिति र संसदीय दलको बैठक आइतबार बस्दै छ।

शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। बैठक आइतबार ११ बजेका लागि बोलाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। “हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित हुनुन्थ्यो। त्यसैले महत्त्वपूर्ण निर्णय हुन सकेन,” परियारले भने, “आजको बैठकले सरकारबारे निर्णय गर्छ।” रास्वपाले चितवन–२ मा चाँडो उपनिर्वाचन गर्नुपर्ने पनि माग गरेको छ।

शनिबारको बैठकमा यसबारे पनि छलफल भएको परियारले बताए। रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै गृहमन्त्री पद गुमाएका थिए। रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ।

यसअघि बिहीबार बसेको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार सकिएको छ।