प्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन आइतबार प्रतितोला एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य घटेको छ। अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको हो।

शुक्रबार तोलाको एक लाख छ हजार १०० रुपैयाँ रहेको सुन आज एक लाख चार हजार १०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको एक लाख तीन हजार ६०० रुपैयाँ छ। त्यस्तै चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ। चाँदी एक हजार ३२० रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यको आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्ने गरेको छ।