देउवालाई ओलीले भने– कोही पनि जालन्धर नबनौँ

आइतबार संसद्को विशेष समयमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका लागि योगदान गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि  नहुने बताएका छन्। आइतबार संसद्को विशेष समयमा बोल्दै ओलीले राष्ट्रका लागि योगदान गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन्।

देउवाको नाम लिँदै ओलीले भने, “हामी बृहत्तर राष्ट्रिय हितमा काम गह्रौँ। राजनीतिक स्थायित्वका लागि योगदान गह्रौँ। अस्थिरताको बिउ स्वयम्‌का लागि प्रत्युत्पादक हुनसक्छ भन्ने बुझौँ। कोही पनि जालन्धर नबनौँ। स्वस्थानीको सिजन छ नि। २०५२ साल, २०५८ साल र २०७२ सालका जस्ता अनेक अनुभव हामीसँग छन्। देशलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि हित हुँदैन।” 

सत्ता बाहिरको कांग्रेस पानी बिनाको माछाजस्तै छटपटाउन थालेको ओलीको भनाइ थियो।