कांग्रेसका नेताहरूले प्रतिपक्षको भूमिका स्विकार्नै सकेनन्: ओली

एमाले अध्यक्ष ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे। 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरू प्रतिपक्षको भूमिकालाई स्विकार्नै नसक्ने स्थितिमा पुगेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नेकपा एमालेलाई सरकार गठनको मत नपाएकाले रुचि नराख्दा पनि कांग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न हेतु नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पारे। 

उनले संसद्मा कांग्रेसका व्यवहारहरू बुझिन सक्नुको रहेको बताउँदै कांग्रेस यतिबेला पानीबिनाको माछो झैँ छटपटाइरहेको बताए। उनले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे। 

"कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छटपटाइरहेको देखिन्छ। सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा देखिन्छ", उनले भने। उनले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरू मिलेर दृढ निश्चय र इमानदारीका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न आग्रह गरे।

अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको उल्लेख गरे। उनले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गरे। अध्यक्ष ओलीले बृहत्तर राष्ट्रिय हितमा काम गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरे।