राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी

अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउँदै सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने कार्ययोजना सुनाइन्।

काठमाडौँ राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्। आइतबार दिउँसो संघीय संसद् भवनको लोत्से हलमा पुगेर उनले सो पदमा उम्मेदवारी दिएकी हुन्।

सत्तारूढ दलहरूका तर्फबाट साझा उम्मेदवारी दिएकी अर्यालका प्रस्तावमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् भने समर्थकमा नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

पूर्वमन्त्रीसमेत रहेकी अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताइन्। उनले सञ्चारकर्मीमाझ आफूले कार्य सम्पादन गर्दा दलीय गन्ध आउन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

अर्यालले राष्ट्रियसभालाई अझै गरिमामय बनाउने र सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने कार्ययोजना रहेको पनि बताइन्।

विपक्ष नेपाली कांग्रेस लगायतका दलहरूले उम्मेदवारी नदिने निर्णय गरेका कारण उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ। संघीय संसद् सचिवालयले आइतबार अपराह्न ४ बजेसम्म सो पदका लागि मनोनयन दर्ता गर्ने र सोमबार निर्वाचन हुने गरी राष्ट्रियसभा बैठक बोलाइएको छ।