मौसमसम्बन्धी सूचना संकलन गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।
अमेरिकी आकाशमा उडिरहेको चिनियाँ शंकास्पद बेलुन अमेरिकाले क्षेप्यास्त्र प्रयोग गरी खसालिदिएको छ। एट्लान्टिक समुद्रमाथि घुमिरहेको बेलुन अमेरिकी सुरक्षाकर्मीले शनिबार खसालिदिएका हुन्।
अमेरिकाले एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी बेलुन क्यारोलाइनाको तटमा खसालिएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ। हाल समुद्रमा ११ किलोमिटरसम्म छरिएका बेलुनका टुक्रा बटुल्ने काम भइरहेको अमेरिकी सेनाले जनाएको छ।
बेलुनलक्षित क्षेप्यास्त्र प्रहारले राष्ट्रिय सुरक्षामा जोखिम ननिम्त्याओस् भनेर अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शनिबार दक्षिण क्यारोलाइनाको तटीय क्षेत्रका तीनवटा विमानस्थलको सेवा केही समय रोकेको थियो।
पेन्टागनको विज्ञप्तिमा भनिएको छ, "बेलुनले संकलन गरेका सबै निगरानी र संवेदनशील सूचना संरक्षणका लागि आवश्यक सबै कदम चाल्नेछौँ।” यसअघि क्यानडाको आकाशमा समेत सो बेलुन देखिएपछि सुरक्षा चासोसहित अमेरिका र क्यानडाले विज्ञप्ति जारी गरेका थिए।
मौसमसम्बन्धी जानकारी प्राप्त गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।
बेलुन नष्ट गरेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले भने, “मलाई बेलुनबारे बुधबार जानकारी प्राप्त भएको थियो र त्यतिबेलै मैले जमिनमा रहेका कसैलाई पनि हानि नगर्ने गरी नष्ट गर्न पेन्टागनलाई निर्देशन दिएको थिएँ। उनीहरूले उचित समय छनोट गरी क्षेप्यास्त्र प्रहार गरी बेलुनलाई पानीमाथि नै नष्ट गर्न सफल भए।”
यो बेलुन केबल मानवीय उद्देश्यका लागि भएको र अमेरिकी क्षेत्रमा प्रवेश गर्नु पूर्णरूपमा दुर्घटना भएको भन्दै चीनले माफी मागेको थियो। सो बेलुन भड्किएको एक मौसमी विमान मात्रै भएको अन्यथा निगरानीको कुनै उद्देश्य नरहेको चीनको दाबी छ। तर, पेन्टागनले युद्ध अभ्यासका लागि सक्षम र जानाजान निगरानीकै लागि पठाइएको बेलुन भएको दाबी गरिरहेको छ।
बेलुन खसालेकोप्रति आपत्ति जनाउँदै बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “मानवरहित हवाई यानमाथि अमेरिकी बल प्रयोगप्रति कडा विरोध र असन्तोष प्रकट गर्दछौँ। यस कार्यको उचित प्रतिक्रिया दिनेछौँ। निराधार आरोप र प्रचारबाजीको कडा विरोध गर्छौं। केही अमेरिकी राजनीतिज्ञ तथा मिडियाहरू चीनमाथि आक्रामक बनेको र छवि धमिल्याउन खोजिरहेका छन्।”
यता, अमेरिकी रक्षामन्त्री लोइड अस्टिन भन्छन्, “चीनले सो बेलुन पठाएर अमेरिकाका महादेशीय रणनीति क्षेत्रहरूमा निगरानी गर्ने प्रयास गरेको छ र अमेरिकी प्रादेशिक जल क्षेत्रनजिक पनि ल्याइएको छ।”
“सावधानीपूर्वक विश्लेषणपछि मात्रै अमेरिकी कमान्डरहरूले बेलुन खसाल्ने निर्णय गरेका हुन्”, अस्टिन थप्छन्, “बेलुन नष्ट गर्ने उचित र कानूनसम्मत कार्यले अमेरिकी जनताको सुरक्षाको विषय बाइडेन प्रशासनका लागि प्राथमिकताको विषय हो भन्ने कुरा देखाएको छ। हाम्रो सार्वभौमिकताको उल्लंघन गर्ने चिनियाँ कदम अस्वीकार्य छ।”
अमेरिकी क्षेत्रमा प्रवेश गरेको चिनियाँ बेलुनको घटनाप्रति प्रतिक्रियामा ताइवानको विदेश मन्त्रालयले समेत विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका कदमले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएको छ। “अन्य देशको सार्वभौमिकतामाथिको हस्तक्षेप कुनै पनि सभ्य अन्तर्राष्ट्रिय समुदायका लागि सह्य हुँदैन” विज्ञप्तिमा भनिएको छ। ‘बेलुन घटना’पछि चीन र अमेरिकाबीच कूटनीतिक दरार थप बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
