माधव नेपाल भन्छन्– पार्टीभित्र मतभेद छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको बताएका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र मतभेद नरहेको दाबी गरेका छन्। आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। 

अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चारमाध्यममा आएको भन्दै असन्तुष्टि व्यक्त गरे।

"मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ। उहाँको सुझाव हो त्यो। पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ? नेपालको राजनीतिक कम्युनिस्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ? भन्नेमा उहाँलाई लागेका विचारहरू हुन्। यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यकता छैन", उनले भने।

पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उनको भनाइ थियो। "हाम्रो पार्टीभित्र यो पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे पार्टीलाई सुदृढ बनाउनेबारे कुनै मतभेद छैनन्। यसबारे कमरेडहरू ढुक्क भएर जानु भए हुन्छ। नेताहरूबीच खटपट भएको भन्ने लागेको होला? छैन", उनले भने।

अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजानेमा ढुक्क हुन पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए।

महाधिवेशनको तयारीमा नेकपा एस
एकीकृत समाजवादी पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले आगामी २०८० साल फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो। त्यसका लागि आगामी जेठमा पार्टीको स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठन लगायतका सम्पूर्ण काम सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित हुने बताए। "अर्को वर्षको फागुनभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौैं भन्ने कार्ययोजना दिएका छौँ। र, सम्पूर्ण ध्यान अब त्यतातिर दिने भन्ने पार्टीले आमधारणा बनाइसकेको छ", उनले भने।

त्यसैगरी, बैठकले संविधान र राष्ट्रियतालाई जोगाउन दृढतापूर्वक उभिने निर्णय गरेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउनेतर्फ नेतृत्वदायी भूमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए। बैठकमा नेताहरूले आगामी चार वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।