घोराही–तुलसीपुर चारलेन निर्माण २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्नुपर्ने काम हालसम्म १० प्रतिशत पनि भएको छैन।
दाङ– तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै। खानेकुरामा पनि धुलो पस्दा थप पीडा थपिने गरेको छ। “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ,” उनले भनिन्, “धुलोले नानीबाबुका आँखा रसाउँछन्। लुगा धोएर सुकाउने ठाउँ छैन।”
घोराही–तुलसीपुर चारलेन सडक निर्माण जारी रहेकाले धुलोले समस्या बनाएको हो। मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ। काम गर्ने क्रममा नाक, मुखमा धुलो पस्ने, घर वरिपरि धुलैधुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलैधुलोले भरिन्छ। शरीरमा, मुखमा हातले छुदा माटो नै निस्किने, माझेर राखेको भाँडामा पनि माटैमाटो हुने गरेको उहाँको दुखेसो छ। “पाँचवर्ष भयो, यसरी सास्ती खेप्न थालेको। छिटो काम सकिदिए हुन्थ्यो,” उनले भनिन्।
सडकमा आवतजावत गर्ने यात्रुलाई पनि त्यत्तिकै समस्या हुने गर्छ। “धुलै धुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन। यसले दुर्घटनाको जोखिम पनि उत्तिकै छ,” चालक ध्रुव रावतले भने, “सवारी चलाउन पनि समस्या हुन्छ।” यस्तो धुलोले स्वास्थ्यमा असर गर्ने चिकित्सक बताउँछन्। धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधि खाँदा पनि सन्चो नहुने अवस्था आउने डा अशोककुमार पण्डितले बताए।
घोराही–तुलसीपुर चारलेनको काम २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्ने गरी सम्झौता भयो। तर अहिलेसम्म पनि पूरा नहुँदा यात्रुलाई मात्रै नभई वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको छ। उक्त सडकमा अहिलेसम्म सात जना पेटी ठेकेदार फेरिएका छन्। चौथोपटक म्याद थप भइसकेको छ।
काम सक्ने त टाढाको कुरा छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक र २०७८ पुस २८ सम्म दोस्रोपटक म्याद थप भयो। तर, काम अघि बढ्न नसकेपछि २०७९ वैशाख २९ सम्मका लागि तेस्रोपटक म्याद थप थपियो। त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । खरिद ऐनको १२औँ संशोधनले चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ।
सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ रायमाझी आएका हुन्। पटक–पटक म्याद थप हुने तर, काम नसिकँदा नागरिक स्तरबाट पनि विरोध हुन थालेको छ। केही दिनअघि मात्रै सामाजिक अभियन्ताको पहलमा खाल्डाखुल्डी पुर्ने काम भएको थियो। चारलेन सडक भ्याटसहित एक अर्ब २३ करोड रुपैयाँमा ठेक्का लागेको हो। भारतीय तथ्य इञ्जीनियरिङले ठेक्का लिएको छ। तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ।
पुस १८ देखि बुटवलका सुनिलजङ राइमाझीले पेटी ठेक्का पाएका छन्। तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन्। तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीले दैनिक तीन लाख २१ हजार ९०० जरिवाना तिरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
