टर्की र सिरियाको सीमामा विध्वंसकारी भूकम्प : १७५ जनाको मृत्यु, ६०० बढी घाइते

भूकम्पका कारण टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएको एबीसी न्यूजले जनाएको छ।

तस्वीर : एनादोलु एजेन्सी

टर्की र सिरियाको सीमा क्षेत्र गाजियान्टेपमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा १७५  जनाको मृत्यु भएको छ। एबीसी न्यूजका अनुसार सिरियामा ९९ र  टर्कीमा ७६ जनाको मृत्यु भएको हो।

यस्तै टर्कीमा ४४० र सिरियामा २०० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युड र १७.९ किलोमिटर गहिराइको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। पहिलो भूकम्प गएको १५ मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पसमेत गएको थियो। टर्कीका १० वटा शहरमा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

टर्कीमा सय वर्षयताकै विध्वसंकारी भूकम्प गएको हो। कारामानमारास, हटाये, गाजियान्टेप, ओस्मानिये, अदियामान, मालात्ये, अदाना, किलिस, दियारबकिरमा भूकम्पको धक्का महसुस गरिएको गृहमन्त्री सुलेमान सोएलुले बताए। भूकम्पका कारण सयौँ भवन ध्वस्त भएको र भग्नावशेषमा कैयौँ मानिस पुरिएकाले उद्धार कार्य जारी रहेको उनले बताए। खोजी र उद्धारका लागि उच्च सतर्कता अपनाउँदै सयौँ उद्धारकर्ता परिचालन गरिएको छ। इस्तानबुलबाट हजारभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको बताइएको छ। टर्कीको विपद् विभागले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।

यस्तै सिरियाको एलेप्पो, हामा र ताताकिया क्षेत्रमा बढी क्षति भएको छ। एलेप्पो शहरमा कैयौँ भवनहरू ध्वस्त भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगानले विपद्‌बाट चाँडो पार लाग्ने र थोरै क्षति होस् भन्ने कामना गरेका छन्। विपद्का बेला राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाइ थियो। बीबीसीका अनुसार भूकम्पको धक्का लेबनान, गाजा र साइप्रससम्म महसुस गरिएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका भूकम्प प्रभावितलाई सहयोगका लागि आफ्नो अन्तर्राष्ट्रिय विकास विभागसँग कुरा गरिसकेको बताइएको छ।

यता, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले टर्की र सिरियाको विपद्लाई चासो दिइरहेको बताएका छन्। टर्कीसँग प्रत्यक्ष सम्पर्कमा रहेर सहयोग गरिने उनले बताए। टर्कीको भूकम्पप्रति विश्वका नेता र उच्च पदस्थ अधिकारीले दुःख व्यक्त गरेका छन्। भूकम्पका परकम्प जाने क्रम बढेकाले प्रभावित क्षेत्रका मानिसहरूट घर बाहिरै बसिरहेका छन्।