नागरिकतालगायतका विधेयक संसद्‌मा लैजान दलहरू सहमत

सरकारले नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्‌मा लैजाने तयारी गरेको छ।

तस्वीर : रासस

काठमाडौँ– सरकारले जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्‌मा लैजाने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको राजनीतिक दलका सचेतकको बैठकमा जनसरोकारसँग जोडिएका विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो। नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्‌मा लैजाने तयारी सरकारको छ।

प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा संसद्को बिजनेस र विधेयक अगाडि बढाउनेबारे संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूसँग छलफल गरेका हुन्। संसद्लाई व्यवस्थित गर्ने र विधेयक अगाडि बढाउने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।