उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्। 

काठमाडौँ- राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। 

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्। उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्। 

अर्याललाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको थियो। उनी निर्वाचित भएसँगै राष्ट्रियसभाले एक वर्षपछि उपाध्यक्ष पाएको छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल एक वर्षअघि नै सकिए पनि निर्वाचन भएको थिएन। दाहाल पनि माओवादी केन्द्रकै सांसद थिइन्।

अर्याल माओवादी केन्द्रकी स्थायी समिति सदस्य पनि हुन्। उनलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराउने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए। उक्त प्रस्तावमा नेकपा एमालेका देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए। 

राष्ट्रियसभामा एमालेका सबैभन्दा बढी १६ सांसद छन्। माओवादी केन्द्रका १५ र नेपाली कांग्रेसका १० सांसद छन्। त्यस्तै, एकीकृत समाजवादीका आठ, जसपाका तीन तथा लोसपा र राजमोका एक–एक सांसद छन्। सरकारमा सहभागी नभएका कांग्रेसलगायत दलले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएका थिएनन्।

नवनिर्वाचित उपाध्यक्ष अर्याल नौ वर्षअघि मात्र एमाले छाडेर माओवादी प्रवेश गरेकी थिइन्। त्यतिबेला उनी एमाले पोलिटब्युरो सदस्य थिइन्। एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्ष बन्न नपाएपछि असन्तुष्ट बनेकी उनले पार्टी छाडेकी थिइन्। 

राष्ट्रियसभामा भने एमालेसमेतको समर्थनमा उनी उपाध्यक्ष बनेकी छन्। उनी माओवादी केन्द्रकी स्थायी समिति सदस्य र अनेमसंघ क्रान्तिकारी फ्याक्सन इन्चार्ज छिन्। 

अर्याल २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा पर्साबाट पराजित भएकी थिइन् भने २०५६ सालमा निर्वाचित भएकी थिइन्।

उनी २०६३ सालमा बनेको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री थिइन्। त्यसैगरी, झलनाथ खनाल २०६७ सालमा प्रधानमन्त्री हुँदा उनी स्थानीय विकासमन्त्री भएकी थिइन्।