हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

प्रमुख सचेतकहरूसँग छलफलमा प्रधानमन्त्री दाहालले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र योबीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ– संसद्का गतिविधि चलायमान बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदसँग संसद्मा कस्तो बिजनेस लैजाने र चालू अधिवेशनबाट कति वटा विधेयक पास गर्ने भन्नेबारे सुझाव लिएका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसद्को बिजनेस कसरी अघि बढाउने र चालू सत्रमा कस्ता विधेयक लैजाने भन्नेबारे छलफल भएको बताए। उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए। हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको बताए।

"संसद्ले बिजनेस पाएको छैन, त्यसैले सदनलाई बिजनेस दिनुपर्छ भन्ने हाम्रो माग थियो। नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ, पास गर्नुपर्छ भनेका छौँ। प्रधानमन्त्री गम्भीर बन्नुभएको छ। करिब डेढ महिना यो सत्र चल्छ, यसमा करिब १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिबद्धता जनाउनु भयो", उनले भने।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख सचेतकहरूसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरेको बताए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् सञ्चालन भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले बैठक बोलाएको बताए। उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकले संसद्लाई कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गरेको बताए। उनले संसद् सञ्चालन भए पनि संसद्का प्राविधिक कुरामा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको बताए।

उनले बैठकमा समिति बन्न नसक्दा संसद्लाई कार्य, व्यवसाय दिने विषयमा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्नेबारे छलफल भएको बताए। उनले आगामी संसद्का बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयक सरकारले संसद्मा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसद्मा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकसँग सुझाव लिएको बताए। उनले सहज रूपमा सरकारले संसद्मा विधेयक पेस गर्नका लागि के कस्ता अप्ठ्यारा छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताए।

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समिति नबन्दा सरकारले संसद्मा विधेयक पेस गर्दा अप्ठ्यारो हुने बारे पनि छलफल भएको बताए।