६ महिनामा विदेशी मुद्रा सञ्चिति १ खर्ब २१ अर्बले बढ्यो

गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय सञ्चिति १ खर्ब २१ अर्ब ४९ करोड रुपैयाँले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय  प्रतिवेदनले ६ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेको हो।

गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा पनि ७६ करोडले सञ्चिति बढेको छ।

गत असारमा ९ अर्ब ५४ करोड रहेकोमा पुसमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० पुगेको छ। गत पुससम्म रहेको विदेशी मुद्रा सञ्चितिले ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा पुसमा १२ प्रतिशतले बढेर ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।

यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असारमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा पुस मसान्तमा ३.४ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा २३.६ प्रतिशत रहेको छ।

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा
६ महिनाको अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा देखिएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा भने ७३ करोड ४४ लाखले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, चालु खाता घाटामा पनि सुधार देखिएको छ। चालुखाता घाटा पुस मसान्तसम्म २९ अर्ब ४७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो।

रेमिट्यान्स पनि बढ्यो
राष्ट्र बैंकको प्रतिवेदनअनुसार रेमिट्यान्स पनि २४.३ प्रतिशतले बढेको छ। गत साउनदेखि पुस मसान्तसम्म ५ खर्ब ८५ अर्ब ८ करोड रेमिट्यान्स मुलुक भित्रिएको छ। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ।