टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ४३ सय नाघ्यो

भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।

तस्वीर : एपी

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या चार हजार ३०० नाघेको छ।

भूकम्प गएको २४ घण्टामा टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाको मृत्यु भएको द गार्जियनले जनाएको छ। सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। बीबीसीका अनुसार अन्य हजारौँ मानिस घाइते भएका छन्। मंगलबार बिहानसम्म टर्कीमा मात्रै १५ हजार ८३४ जना घाइते भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

दुवै देशका हजारौँ भवन भत्किएपछि भग्नावशेषमुनि फसेका मानिसको खोजी र उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ। अमेरिका र दक्षिण कोरियालगायत देशहरूले सहायता सामग्री पठाइरहेका बताइएको छ। पराकम्पहरू जाने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भइरहेको टर्कीको प्रकोप र आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।