श्रमिक महिलाको गुनासो– काम पुरुष सरह, ज्याला किन थोरै?

महिला श्रमिकले ४५० देखि ६०० सम्म ज्याला पाएका छन्। तर त्यही काम गर्दा पुरुषले भने एक हजार २०० सम्म पाउने गरेका छन्।

फाइल तस्वीर

कैलाली– जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन्। टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, माटो, बालुवा, ढुंगा बोक्ने काम गर्छिन्।

उनले दिनभरिको ज्याला भने ४५० मात्रै पाउने गरेकी छन्। “घर निर्माणमा खटेका मिस्त्रीसँगै चार वर्षदेखि सबै काम गरिरहेकी छु। मिस्त्रीले जे काम गर्छन् त्यही गरिरहेकी छ,” उनले भनिन्, “दिनभरि काम गर्छु। बेलुका थकानसँगै ४५० लिएर घर फर्कन्छु।” यसरी काम नगरे पेट भर्न समस्या हुने उनले बताइन्। “अहिले त जवान छु। सकेको गरेर पेट पालेको छु,” उनले भनिन्, “हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो। यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला र?”

घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी मिस्त्री हुन्। कहिले आठ तथा कहिले नौ घण्टा बढी काम गर्नुपर्छ तर, पाउने पारिश्रमिक त्यही ४५० नै हो। दिनभरि माटो, ढुंगा र बालुवामा खेल्दा हात काटिने, चोटपटक लाग्ने डर हुने उनले सुनाइन्। “बाध्यता छ, काम नगरी घर चल्दैन, काम गर्दा जोखिम बढी हुन्छ”, सोमबार उनले भनिन्, “हिजो हात काटियो, इँटा खसेर खुट्टामा पनि चोट लागेको छ। हात फुट्ने, चोट लाग्नेजस्ता कुरा सामान्य भइसके।”

उनीहरूसँगै काम गर्ने पप्पु दासले भने दैनिक ज्याला ८०० रुपैयाँ पाउँछन्। महिलाहरू सहयोगीका रूपमा काम गर्ने भएकाले महिला र पुरुषको ज्याला फरक रहेको उनले बताए। “मैले घर चिन्ने काम गर्छु, मेरो काम कडा हुन्छ। त्यसैले मेरो ज्याला अलि बढी हुन्छ,” उनले भने, “महिलाहरू सहयोगीको काम गर्ने भएकाले उहाँहरूको ज्याला कम भएको होला।”

महिला र पुरुष श्रमिकमा पनि विभेद छ। महिला श्रमिकले ४५० देखि ६०० सम्म ज्याला पाएका छन्। तर त्यही काम गर्दा पुरुष श्रमिकले भने एक हजार २०० सम्म पाउने गरेका छन्। “महिलालाई तीन खालको ज्याला दिइन्छ। सामान्य काम गर्नेलाई ४५०, मसला बनाउन जानेकालाई ५०० र मिस्त्री काम जानेकालाई ६०० सम्म दिने गरेका छौँ,” डकर्मी व्यवसायी सङगठन टीकापुरका अध्यक्ष देवदास मुन्सीले भने, “पुरुषको ज्याला ५५० देखि एक हजार २०० सम्म छ।” उनका अनुसार धेरै ज्याला पाउने मिस्त्रीले घरको नक्सा हेर्नसमेत जानेका हुन्छन्।

शहरी होस् या ग्रामीण क्षेत्रमा हरेक वर्ष नयाँ घर निर्माण हुन्छन्। घर बनाउँदा मिस्त्री तथा मजदुर चाहिन्छन्। यसरी मजदुरी गर्नेमा महिला र पुरुषबीच ज्यालामा विभेद गर्न नहुने महिला अधिकारकर्मी निर्मला कडायतको माग छ। “एउटै काम गर्ने पुरुष ८५० ज्याला पाउँछ, त्यही काम गर्ने महिलालाई ४५० रुपैयाँ मात्र दिनु विभेद हो,” उनले भनिन्, “मिस्त्री काम जानेका महिलाले पनि ज्याला राम्रो पाउन सकेको देखिँदैन। यसमा स्थानीय सरकारले अनुगमन गर्न आवश्यक छ।”

सरकारले बराबरी कामको बराबरी ज्याला दिन भने पनि कार्यान्वयन हुन नसकेको उनले बताइन्। कमै ज्याला दिए पनि बाध्यतामा काम गर्नेका विषयमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ।