विमान निर्माता कम्पनी बोइङले वित्तीय विभागका २ हजार कर्मचारी हटाउँदै

विमान निर्माता कम्पनी बोइङले वित्तीय र मानव संशाधन क्षेत्रका २ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ।

तस्वीर : एपी

अमेरिकी विमान निर्माता कम्पनी बोइङले यस वर्ष वित्तीय र मानव संशाधन क्षेत्रका २ हजार कर्मचारी कटौती गर्ने भएको छ। विमानको इन्जिनियरिङ र उत्पादनमा केन्द्रीत हुने भन्दै बोइङले २ हजार कर्मचारीलाई हटाउन लागेको हो।

आफ्ना जनशक्ति तथा स्रोतसाधनलाई उत्पादन, सेवा र प्राविधिक विकासमा लगाएका कारण अन्य क्षेत्रका कर्मचारी कटौती हुने स्थिति आएको बोइङले जनाएको छ। बोइङले टाटा कन्सल्टिङ सर्भिसबाट केही कर्मचारीहरू पठाउनेसमेत जनाएको छ। टाटा कन्सल्टिङ सर्भिस भारतको सबैभन्दा ठूलोमध्येको व्यापारिक समूहको एक युनिट हो।

बोइङले पछिल्ला वर्षमा ७३७ म्याक्सको ग्राउन्डलिङ र दुई गम्भीर दुर्घटनाको सामना गरेको छ।

“हाम्रो आफ्नो टोलीमा सधैँ पारदर्शी छौँ र रहने छौँ। अहिले कम्पनीको कर्पोरेट सहायता कामकाजका केही क्षेत्रमा कर्मचारी कटौती गर्न लागेका छौँ। हाम्रो निर्णयबाट प्रभावित साथीहरूलाई सहयोग गर्ने छौँ र नयाँ कम्पनीमा जानका लागि आवश्यक सहायता र स्रोत उपलब्ध गराउन तत्पर रहने छौँ”, कम्पनीले भनेको छ।

कटौती हुनेमध्ये बोइङका एक तिहाइ कर्मचारी भारतको बै‌ंगलोरस्थित 'टाटा कन्सल्टिङ सर्भिस'मा सरुवा हुने बताइएको छ। सन् २०२२ मा १५ हजार कर्मचारी भर्ना गरेको बोइङले यस वर्ष इन्जिनियरिङ र उत्पादन क्षेत्रमा भने १० हजार कर्मचारी थप्ने तयारी गरेको छ।

सन् २०१८ अक्टोबर २९ मा लायन एयरको विमान ६१० म्याक्स इन्डोनेशियाको जाभा समुद्रमा दुर्घटना हुँदा १८९ व्यक्तिहरूको ज्यान गएको थियो। जकार्ताको सोकर्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको १३ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो।

त्यसको पाँच महिनाभन्दा पनि कम समयमा अर्को बोइङ ७३७ म्याक्स दुर्घटनामा परेको थियो। इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याका लागि उडान भरेको इथियोपियन एयरलाइन्सको विमान ३०२ उडेको केबल ६ मिनेटमा दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो।