५ वर्षमा ७ करोड ५० लाख डलरको पस्मिना निर्यात गर्ने सरकारको लक्ष्य

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने, हिमाली च्याङ्ग्राको पस्मिना निर्यात बढाउने र पस्मिनाका उत्पादनलाई विश्व बजारमा पुर्‍याउने उद्देश्य सरकारको छ।

काठमाडौँ– सरकारले सन् २०२६ सम्म ७ करोड ५० लाख अमेरिकी डलरको पस्मिना निर्यात गर्ने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ।

मंगलबार ललितपुरमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेका हुन्।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने, हिमाली च्याङ्ग्राको पस्मिना निर्यात बढाउने, पस्मिनाका उत्पादनलाई विश्व बजारमा पुर्‍याउने उद्देश्य सरकारको रहेको छ।

राष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपिसी) तथा नेपाल पस्मिना उद्योग संघ (एनपीआईए)सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पस्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताए। उनले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास व्यक्त गरे।

मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको ऊनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य, बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गरे। उनले नेपालभित्र पस्मिनाको धागो उत्पादन गरी पस्मिनाजन्य वस्तुको उत्पादन र गुणस्तर बढ्ने उल्लेख गरे। “रणनीतिले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीलाई सूक्ष्म रूपमा विश्लेषण गरी पस्मिना क्षेत्रको समग्र विकास पाँच वर्षभित्र निर्यात गर्न सक्ने लक्ष्य निर्धारण गरेको छ", उनले भने।

त्यस्तै, उद्योगसचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लामा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना  हुने र किसानले उचित मूल्य पाउने उल्लेख गरे। उनले नेपालमा च्याङ्ग्राको ऊन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको बताए।

सचिव मरासिनीले निर्यातजन्य वस्तुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजना बनाइरहेको सुनाए। "हामीले निर्यातजन्य नेपाली वस्तुहरूको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरेर व्यापार घाटा कम गर्नसक्छौँ", उनले भने।

त्यस्तै, नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए। “अहिलेसम्म नेपालमा विदेशबाट पस्मिनाको धागो आयात गरेर वस्तु उत्पादन गरिरहेका छौँ। अब हामीले आफ्नो प्रशोधन कारखाना राखेर, आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्छौं", उनले भने।

मंगलबार नै पस्मिना प्रशोधनका लागि पस्मिना फाइबर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ। नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रुपैयाँ (करिब १ करोड ९३ लाख अमेरिकी डलर) बराबरको पस्मिना सल निर्यात गरेको थियो।

सरकारको रणनीतिले सन् २०२६ को अन्त्य सम्ममा ७ करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पस्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्‍याउने बताइएको छ।