देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्चमा दर्ता

सर्वोच्च अदालतले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारको मिति तोकेको छ।

काठमाडौँ– कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट निवेदन सर्वोच्चले दर्ता गरेको हो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता पोखरेल यसअघि पनि सर्वोच्च पुगेका थिए। तर, माघ १८ गते शेरबहादुर देउवालाई प्रतिपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए। 

दरपीठ आदेशविरुद्ध पोखरेलले दिएको अर्को निवेदनको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्नु भनी आदेश दिएको हो।

रिटमा देउवाका साथै संघीय संसद् सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई विपक्षी बनाइएको छ। सर्वोच्चले निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारको मिति तोकेको छ।