टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ७ हजार ९ सय नाघ्यो

भूकम्प प्रभावित क्षेत्रमा हिउँसहित पानी परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बीबीसीले जनाएको छ। 

तस्वीर : एपी

टर्की र सिरियामा सोमबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या सात ७ हजार ९२६ पुगेको छ। टर्कीमा पाँच हजार ९९४ र सिरियामा एक हजार ९३२ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० हजार पुग्नसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ। ‘सेतो हेलमेट’ भनेर चिनिने सिरियन सिभिल डिफेन्सले उत्तरपश्चिम सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा मात्रै एक हजार २२० जनाको मृत्यु र दुई हजार ६०० बढी घाइते भएको बताएको छ। "भग्नावशेषमुनि सयौँ परिवारहरू रहेका कारण यो संख्या उल्लेखनीय रूपमा वृद्धि हुने अनुमान गर्न सकिन्छ," उसले भनेको छ, "हाम्रा टोलीहरूले कठिन परिस्थितिमा खोजी र उद्धार कार्य जारी राखेका छन्।"

टर्कीमा ३४ हजार ८१० जना घाइते भएको त्यहाँका उपराष्ट्रपति फुआत ओक्तेले बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा हिउँसहित पानी परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ। 

टर्कीको गाजियान्टेपमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसको केही समयमै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।