एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छौँ : गगन थापा

विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ छ।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। 

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने विषय स्वाभाविकै भएको जिकिर गरे। बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने बताए।

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने बताए।

“हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । र, हराएरै छाड्छौँ। कोसिस गर्छौं”, उनले भने “हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिश गर्छौँ। किनभने राष्ट्रपति को हुनेभन्दा पनि संविधानलाई दुर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ। डर हिजोको राष्ट्रपतिहरूको भूमिकाको कारणले पसेको छ। त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौँ।“

विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो।

महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा किन गएको र किन बाहिरिएको हो भनी प्रश्न गरे। उनले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि सो पार्टीप्रति असन्तुष्टि जनाए।

“सरकारमा किन गएको भनेर भन्न नपर्ने, सरकारको गएको मान्छे फेरि किन बाहिर गएको? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दाखेरि हामीसँग गरिएको सहमति पालना भएन भन्ने। सहमति कसले पालना नगरेको? प्रधानमन्त्रीले पालना गरेको। सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन? अनि अहिले सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन। कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो?”

महामन्त्री थापाले नेपालको लोकतन्त्रको रक्षाका लागि प्रेसमा पनि सुधारको आवश्यकता रहेको बताए।