बागलुङ–बेनी सडक जीर्ण, कालोपत्र गर्न स्थानीयको माग

२०७४ सालदेखि कालोपत्र गर्न थालिएको रत्नेचौरबाट बेनीको खबरासम्म चार किलोमिटर सडक अझै सम्पन्न भएको छैन।

गलकोट– बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण बनेको छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ।

धुलाम्मे सडकमा यात्रु र स्थानीयलाई सास्ती हुने गरेको छ। बांगेचौरबाट रत्नेचौरसम्म ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर बाढी र पहिरोले बगाएको छ। रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको स्थानीय सुरज सापकोटाले बताए। सडक डिभिजन कार्यालयले मर्मत गर्दै आएको भए पनि सडकको अवस्थामा सुधार आउन सकेको छैन। 

यस्तै रत्नेचौरबाट खबरासम्म चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको छ। तर वर्ष दिन नपुग्दै त्यो उप्किएको सापकोटाले बताए। “बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुन्छ। गुणस्तरीय काम हुन सकेको छैन,” उनले भने, “कुँडुलेमा नाली छ, तर सडक कालोपत्र छैन। रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ।”

मर्मतका लागि बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्काले बताए। “सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ। हालसम्म बजेट आएको छैन,” उनले भने, “स्थानीयले पनि छिटो कालोपत्र गर्न माग गर्नुभएको छ।” रत्नेचौरबाट बेनीको खबरासम्म चार किलोमिटर कालोपत्र गर्न २०७४ सालदेखि थालिएको हो। अझै सो काम सम्पन्न हुन सकेको छैन। १२ करोड १७ लाख रुपैयाँको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एन्ड सायर बीएन जेभीले लिएको छ।

कुँडुलेबाट रत्नेचौर सडक २० लाख रुपैयाँको लागतमा ठेक्कामार्फत मर्मत सम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन्।