साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग लिग चरणको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ। 

तस्वीर : एन्फा

काठमाडौँ– साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपाल र घरेलु टोली बंगलादेश भिड्दै छन्। खेल ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा साँझ पौने ६ बजे शुरू हुनेछ।

बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर फाइनल पुगेको नेपाल घरेलु टोलीसँग बदला लिने लक्ष्यमा छ। लिग चरणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। त्यसपछि भुटान र भारतलाई हराएको थियो। बंगलादेशलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने नेपालका मुख्य प्रशिक्षक यामबहादुर गुरुङले बताए।

बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा उनले भने, “बंगलादेशलाई घरेलु मैदानको फाइदा छ। तर हामी हामी अर्कै तरिकाले खेल्नेछौँ। बंगलादेशको कमजोर पक्षलाई पहिचान गरेर त्यसैमा केन्द्रित हुनेछौँ।” नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। बंगलादेश भने शीर्षस्थानमा रहेर फाइनल पुगेको हो।