राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

रास्वपा सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पहिलोपटक बस्न लागेको हो।

काठमाडौँ– सत्तारुढ दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्दै छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरणले बताए। बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटमा बैठक बोलाउने सहमति भएको थियो। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन्। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने समय बिहीबारसम्म मात्रै छ। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएको भन्दै विश्वासको मत नदिने बताएपछि रावल संकटमा परेका छन्।

यस्तै राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ। रास्वपा सरकारबाट बाहिरिएपछि संयन्त्रको बैठक बस्न लागेको यो पहिलोपटक हो। बैठकमा सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।