गठबन्धनको अजेण्डा भ्रष्टाचार अन्त्य र युवालाई स्वरोजगार बनाउनु हो : बाबुराम भट्टराई

अध्यक्ष भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको बताएका छन्।

बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थालाई बलियो बनाई देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन्। सोमबार गठबन्धनले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गठबन्धनको मुख्य अजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवालाई स्वरोजगार प्रदान गर्नु रहेको बताएका हुन्।

अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए। उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको पनि दाबी गरे।

"गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ। न उदारवादी लोकतन्त्रको ढंगले अघि जानसक्छौँ न हिजोको जस्तो एउटा प्रणालीले अपनाए जस्तो सबै राज्यले मात्रै नियन्त्रण गर्ने अर्थतन्त्रको पक्षमा जानसक्छौँ," उनले भने, "बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यकता हो। वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ।"

अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको उनको तर्क थियो। "कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो। विचाविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवर्द्धन गर्ने शक्तिहरू त्यो गबठन्धन अपवित्र गठबन्धन हो," उनले भने।

अध्यक्ष भट्टराईले विगतका तीतामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए। उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे। उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि बताए।