म्यानचेस्टर युनाइटेड हात पार्न अर्बौं खर्चिन तयार कतारी धनाढ्यहरू, को बन्ला नयाँ मालिक?

कतारी धनाढ्यहरूले निजी पहलमा म्यानचेस्टर युनाइटेड किन्ने योजना बनाइरहेको र क्लब हात पार्न उनीहरू ६ अर्ब पाउन्डभन्दा बढी रकम खर्चन तयार रहेको बताइएको छ।

प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड एकपछि अर्को जितसहित इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा पुगेको छ। अंक तालिकाको शीर्ष स्थानको आर्सनलभन्दा ८ र म्यान्चेस्टर सिटीभन्दा ३ अंकले पछाडि रहेको युनाइटेडलाई सन् २०१३ पछि पुनः उपाधि उचाल्ने मौका छ।

एकपछि अर्को खुड्किलो पार गर्दै उपाधि होडमा पुगेको युनाइटेड क्लब बेच्ने तयारी हुँदैछ भन्ने खबरलाई चासोका साथ हेरिएको छ। १७ वर्षसम्म क्लबको स्वामित्व सम्हालेको अमेरिकी ग्लेजर्स परिवारले क्लब बेच्नसक्ने बताइएको छ।

बेलायती पत्रिका डेली मेलका अनुसार २०औँ पटकको प्रिमियर लिग च्याम्पियन युनाइटेडलाई आफ्नो स्वामित्वमा ल्याउन कतारका धनाढ्य लगानीकर्ताहरू मोटो रकम खर्चन तयार छन्।

युनाइटेड हात पार्न कतारी धनाढ्यहरू ६ अर्ब पाउन्डभन्दा बढी रकम खर्चन तयार रहेको भन्दै डेली मेलले लेखेको छ, “कतारी धनाढ्यहरूले युनाइटेड किन्न र क्लबलाई पुरानै लय (शीर्ष स्थान)मा फर्काउने योजनाका लागि क्लबका प्रशिक्षक ह्यागलाई पनि मोटो रकम दिने योजनामा छन्।“

ग्लेजर्स परिवारले सन् २००५ मा युनाइटेड किनेका थिए। तर, पछि असफल युरोपियन सुपर लिगमा संलग्नता र त्यसपछिका आलोचनाका कारण क्लब अलोकप्रिय बन्न थालेको हो। उपाधिविहीन युनाइटेडका लागि अघिल्लो वर्ष पनि निकै निराशाजनक रह्यो।

युनाइटेडले पाँच वर्षयता कुनै उपाधि जितेको छैन। ओले गनर सोल्सजायर बर्खास्त भएपश्चात् टोली समाल्न आएका राल्फ राग्निकले युनाइटेडलाई एउटै लय र नतिजामा अगाडि बढाउन सकेनन्। प्रिमियर लिगअन्तर्गत ७ अगस्टमा आफ्नै घरेलु मैदानमा भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित भएपछि ब्रेन्टफोर्डसँगको अर्को खेलअघि समर्थकहरूले ग्लेजर्स परिवारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

तर, ब्रेन्टफोर्डमाथि ३–० को जित निकाल्दै युनाइटेडले समर्थकको आक्रोश शान्त पार्ने प्रयास गरेको थियो। राग्निकको युनाइटेडले पछिल्ला सातमध्ये दुई खेलमा जित हात पारेपछि युनाइटेडको तनावपूर्ण स्थिति मत्थर भएको थियो।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको बिहिर्गमनपछि पनि युनाइटेडले थप आलोचना खेप्नुपर्‍यो। प्रशिक्षक ह्यागसँगको खराब सम्बन्धका कारण रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर त पाएनन् नै आफ्नै व्यवहारले पनि विवादित बने। युनाइटेड छाड्नुअघि रोनाल्डोले आफूलाई घात गरेको भन्दै एक अन्तर्वार्तामा क्लबको विपक्षमा बोलेका थिए। रोनाल्डो हाल कतारी क्लब अल नासारमा आबद्ध छन्। रोनाल्डोले युनाइटेडमा कूल ३४६ खेल खेल्दै १४५ गोल गरेका थिए।

नाफामा रहेको क्लब
गत माघमा अन्तर्राष्ट्रिय अडिटिङ एजेन्सी डेलोइटद्वारा सार्वजनिक विश्वका शीर्ष २० धनी क्लबमध्ये ११ वटा प्रिमियर लिग खेल्ने क्लब थिए। आम्दानीको हिसाबले युनाइटेड तालिकाको चौथो स्थानमा थियो। त्यतिबेला युनाइटेडको कूल सम्पत्ति ५८२.३ मिलियन युरो थियो। रिपोर्टका अनुसार युनाइटेडको आम्दानी पनि १५ प्रतिशतले बढेको थियो। यद्यपि, ग्लेजर्स परिवारले सन् २०२२ को नोभेम्बरमा एकाएक क्लबको स्वामित्वबाट पछि हट्ने संकेत गरेको थियो।

युनाइटेड बेच्ने तयारीबारेका समाचार बाहिरिएपछि भारतीय अर्बपति मुकेश अम्बानीले समेत क्लब किन्ने इच्छा व्यक्त गरेका थिए। एप्पल कम्पनी र स्पेनिस अर्बपति अमान्सियो ओर्टेगाले पनि क्लब किन्ने चाहना गरेका थिए। म्यानचेस्टर इभनिङ न्यूजका अनुसार ओर्टेगाले ओल्ड ट्राफोर्डका अधिकारीहरूसँग युनाइटेड किन्ने प्रस्ताव राखेका थिए।

डेली स्टारका अनुसार ग्लेजर्स्सले शुरूआतमा क्बलको बिक्री मूल्य ८ अर्ब २५ करोड पाउन्ड राखेको थियो। क्लबको यो मूल्य अस्वाभाविक मानिएको थियो। यद्यपि, फुटबलको कुनै अनुभव नभएको एप्पलले युनाइटेड किन्ने छलफल अगाडि बढाए पनि लगानी असुरक्षित देखिएपछि बाहिरिएको थियो। यता, युनाइटेड किन्ने भीडमा कतारका धनाढ्यहरू थपिए।

कतारी धनाढ्यहरूले निजी पहलमा युनाइटेड किन्ने योजना बनाइरहेको डेली मेलले उल्लेख गरेको छ। भर्खरै घरेलु मैदानमा सम्पन्न विश्वकप २०२२ मा अत्यधिक दर्शकको साथले अरबका राष्ट्रहरू फुटबलमा आकर्षित देखिएका छन्। यसअघि पनि साउदीका यासिर अल–रूमायनले इंग्लिस प्रिमियर लिगकै फुटबल क्लब न्यू क्यासल किनेका थिए।

म्यान्चेस्टर सिटीको अधिकांश सेयर साउदीका शेख मन्सुर बिन जायद बिन सुल्तान अल नाह्यानको स्वामित्वमा छ। शेख मन्सुरको कुल सम्पत्ति करिब २१ बिलियन डलर रहेको बताइएको छ। फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पनि कतार स्पोर्ट्स इन्भेस्टमेन्टको स्वामित्वमा छ।

युनाइटेडको लोकप्रियता कायमै रहेका कारण ग्लेजर्स परिवार क्लबमा पुनः लगानी गर्न चाहन्छ र केबल आधा हिस्सामा अरूको लगानी भित्राउने मनसायमा छ।

त्यसैअनुसार लगानीकर्तालाई लगानीका लागि आह्वानसमेत गरेको छ। तर, कतारी धनाढ्यहरू युनाइटेडमा आधा लगानी गर्ने पक्षमा छैनन्। पूरै क्लब नै किन्ने योजना छ उनीहरूको, जसका लागि उनीहरू अर्बौं पाउन्ड खर्च गर्न तयार छन्। “उनीहरूले केही दिनभित्र नै युनाइटेडमाथि बोली लगाउने छन्”, डेली मेलले लेखेको छ।

ग्लेजर्स परिवारले क्लब बिक्री या अन्य लेनदेनमा नयाँ लगानीको विकल्प खुला राखेको छ। युनाइटेडले लगानीको आह्वान गर्दै औपचारिक वेभसाइटमार्फत भनेको छ, “विश्व फुटबलको इतिहासमा सर्वाधिक सफल र ऐतिहासिक क्लबको कार्यकारी बोर्ड समितिले क्लबलाई थप रणनीतिक विकल्पमा लैजान चाहन्छ। क्लबको भविष्य, मैदानमा र व्यावसायिक रूपमा बिस्तार गर्ने अवसरका लागि नयाँ लगानी, व्यापार र कम्पनीका अन्य ट्रान्ज्याक्सनका वैकल्पिक रणनीतिको विचार गर्नेछ।”

क्लबमा लगानी गर्नका लागि औपचारिक आग्रह भएसँगै कसले लगानी गर्ला भन्ने चौतर्फी चासो छ। मोटो रकम खर्चेर क्लब किन्ने नयाँ मालिकले पुरानो भइसकेको ओल्ड ट्रोफोडलाई पुनः बनाउन धेरै रकम खर्चिनुपर्ने पनि देखिन्छ। यता, नयाँ स्टेडियम बनाउने विकल्प पनि खुला रहनेछ।

स्टेडियमको परियोजनामा मात्रै २ अर्ब पाउन्ड खर्च हुने अनुमान छ। कतारी लगानीकर्ताका लागि यो ठूलो रकम होइन। फुटबलका दर्शक तथा समर्थकहरूको साथ बटुल्न स्टेडियम बनाउने योजनामा पनि उनीहरू अघि बढ्न सक्छन्।