युरोपियन सुपर लिग खेल्न ८० भन्दा बढी टोली आबद्ध हुनेछन्: ए२२ स्पोर्ट्स

ए२२ का सीईओ बर्न्ड रिचार्टले भविष्यमा युरोपियन सुपर लिगमा ८० भन्दा बढी टोलीहरू आबद्ध हुन सक्ने बताएका छन्।

काठमाडौँ– भविष्यमा युरोपियन सुपर लिगमा ८० भन्दा बढी टोलीहरू आबद्ध हुन सक्ने ए२२ स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ। ए२२ का सीईओ बर्न्ड रिचार्टले बिहीबार उक्त कुरा बताएका हुन्। ए२२ लिग प्रायोजन र सहयोग गर्न गठन गरिएको कम्पनी हो।

उनका अनुसार ए२२ ले गत वर्ष अक्टोबरदेखि युरोपका ५० क्लब र फुटबलका सरोकारवालाहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरू फुटबलमा परिवर्तन आवश्यक रहेको बताएको उनले जानकारी दिए।

“युरोपियन फुटबलको जग ध्वस्त हुने खतरामा छ। यो परिवर्तनको समय हो”, उनले भने, “टोलीहरूलाई प्रतिसिजन कम्तिमा १४ खेलको ग्यारेन्टी दिइनेछ।”

रियल मड्रिड, बार्सिलोना र युभेन्टस गत वर्ष अप्रिलमा सुपर लिगबाट अलग हुने घोषणा गर्ने १२ क्लब थिए। फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले कारबाही गर्ने चेतावनी दिएपछि उनीहरूभन्दा अघि म्यानचेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल, एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिड सुपर लिगबाट बाहिरिएका थिए।

ए२२ले सुपर लिगको गठन रोक्ने फिफा र यूईएफएलाई चुनौती दिएको छ र युरोपेली अदालतमा मुद्दा दायर गरेको छ। यस वर्षको अन्त्यमा अदालतले अन्तिम निर्णय दिने छ।

“युरोपेली क्लब प्रतियोगिताहरूको लागि एक दिगो खेल परियोजना प्रस्तुत गर्नु हाम्रो उद्देश्य हो। सुपर लिग खुला प्रतिस्पर्धा हुनेछ। २७ ईयू सदस्य राष्ट्रहरूले अनुमति दिएपछि सकेसम्म चाँडो लिग शुरू गर्छौँ”, रिचार्टले भने।