स्वास्थ्य बीमाका कारण ताप्लेजुङ अस्पतालको ल्याब सेवा प्रभावित

स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ।  

फुङलिङ– जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।

स्वास्थ्य बीमा बोर्डले बीमा दाबी भुक्तानी नगरेपछि औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुस्किल भएको हो। स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य सुवास आचार्यले जानकारी दिए।

आचार्यका अनुसार उक्त रकम स्वास्थ्य बीमा बोर्डले अस्पताल सञ्चालक समितिलाई भुक्तानी गर्नुपर्ने रकम हो। अस्पताल आफैँले करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सञ्चालन गरिरहेको छ। पाउनुपर्ने ५६ लाख ७८ हजार रुपैयाँमध्ये आर्थिक वर्ष २०७८/७९ मा ४३ लाख ४५ हजार माग दाबी गरिएकामा पाँच लाख ४५ हजार मात्र भुक्तानी भएको छ।

चालु आवमा माग दाबी गरिएमध्ये कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालका निमित्त प्रमुख विजया राईले बताइन्। समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईको भनाइ छ। स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको उनले सुनाइन्।