अस्ट्रेलियाविरुद्धको टेस्टमा जडेजाले बल टेम्परिङ गरेको आरोप

अस्ट्रेलियासँगको टेस्टमा भारतका अनुभवी अफ स्पिनर रवीन्द्र जडेजाले बल टेम्परिङ गरेको आरोप लागेको छ।

काठमाडौँ– घरेलु टोली भारत र अस्ट्रेलियाबीच नागपुरमा भइरहेको टेस्टमा अफ स्पिनर रवीन्द्र जडेजा*ले बल टेम्परिङ गरेको आरोप लागेको छ। भारतका अनुभवी अफ स्पिनर जडेजाले बल टेम्परिङ गरेको आरोप लागेको हो।‍

अस्ट्रेलियाको 'फक्स क्रिकेट' च्यानलले जडेजा आफ्नो औँलामा केही लगाएर बलिङ गरिरहेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेको छ। अस्ट्रेलियाको टोलीले ५ विकेट गुमाएर १२० रन बनाउँदा जडेजा बलिङ गरिरहेका थिए। भिडियोमा जडेजा बल लिएर मोहम्मद सिराज भएको स्थानमा पुगेको देखिन्छ। जडेजाले सिराजको हातबाट केही लिएर औँलामा लगाएको देखिन्छ।

इंग्ल्यान्डका पूर्वकप्तान माइकल भनले सामाजिक सञ्जालमा यसअघि कहिल्यै यस्तो नदेखेको बताएका छन्। यसै क्रममा अस्ट्रेलियाली टोलीका पूर्वकप्तान टिम पेनले पनि यो भिडियोलाई 'रोचक' भनेका छन्।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले उक्त कुराको खण्डन गर्दै जडेजाले दुखाइ कम गर्न औँलामा बाम लगाएको दाबी गरेको छ। बीसीसीआईले कुनै पनि हिसाबले बलसँग छेड्छाड नगरेको बताएको छ। यद्यपि, बलमा कुनै प्रकारको पदार्थ लगाउनाले रिभर्स स्विङमा मद्दत गर्छ।

यो भिडियो बनाउँदासम्म स्पिनर जडेजाले ३ विकेट लिएका थिए। उनले ४७ रन दिए। पहिलो दिनको खेल सकिएपछि पिच स्पिनरका लागि अनुकूल देखिन्छ। स्पिनरहरूले पहिलो दिन ९ विकेट लिएका थिए।


*सच्याइएको