एमालेसँग गठबन्धन गरेको जसपाले यहाँ यादवलाई दोहोर्याएर टिकट दिएको छ भने लोसपाले पार्टीका नेता कर्णलाई उम्मेदवार बनाएको छ। द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
काठमाडौँ- २०४८ सालयताका हरेक निर्वाचनमा नयाँ अनुहार चुनेको पर्सा क्षेत्र नम्बर १ मा पुनः एकपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। पर्सा जिल्लाको राजनीतिमै महत्त्वपूर्ण मानिने क्षेत्र नम्बर १ मा दलका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रिएकाले यहाँको चुनावी माहोल रोचक बनेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमाले-जसपा गठबन्धनले प्रदीप यादवलाई अघि सारेको छ भने सत्तारूढ गठबन्धनबाट लोसपाका नेता लक्षमणलाल कर्ण चुनावी मैदानमा छन्। उनीहरूको प्रतिस्पर्धामा छन्, स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी।
एमालेसँग गठबन्धन गरेको जसपाले यहाँ यादवलाई दोहोर्याएर टिकट दिएको छ भने लोसपाले पार्टीका नेता कर्णलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा यो क्षेत्र लोसपालाई दिएपछि असन्तुष्ट रहेका कांग्रेसका द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
इतिहास हेर्दा, २०४६ सालको परिवर्तनपछि यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि दोहोरिएर निर्वाचित भएका छैनन्।
२०४८ सालको निर्वाचनमा पर्सा-१ बाट नेपाली कांग्रेसका पुराना नेता आत्माराम ओझा निर्वाचित भएका थिए। २०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजीव पराजुली निर्वाचित भए। त्यसपछि २०५६ मा पर्सा-१ मा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई टिकट दियो। भट्टराईलाई कांग्रेसले आगामी प्रधानमन्त्री भनेर प्रचार गर्दै मैदानमा उतारेको थियो। र, उनी चुनाव जितेर प्रधानमन्त्री पनि भए।
लामो समयपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट तत्कालीन मधेशी जनाधिकार फोरमकी करिमा बेगम कांग्रेसका राजेन्द्रबहादुर अमात्यलाई हराउँदै निर्वाचित भइन्। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा अमात्यले बेगमलाई पराजित गर्दै बदला लिए। नयाँ संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा यहाँबाट संघीय समाजवादी फोरमका यादव निर्वाचित भए।
यसपालि दोस्रोपटक जित निकाल्न एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको छ। स्थानीय नेताहरू पनि त्यही आकलन गरिरहेका छन्। यादवको प्रतिस्पर्धा नेता द्विवेदीसँग नै रहेको कांग्रेसका पर्सा-१ का क्षेत्रीय सभापति अरविन्द गुप्ता बताउँछन्।
२०७४ मा यादवका निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अनिल रुँगटा नेपाली कांग्रेसको समानुपातिकको सूचीमा परिसकेका छन्।
गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा जसपाबाट वीरगन्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंह निर्वाचित भएका थिए। गुप्ताका अनुसार स्थानीय तहकै जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनताका जसपाले पर्सामा गठबन्धनका उम्मेदवारलाई हराउन प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको थियो। जिससको निर्वाचनमा एमालेसँग मिलेर कांग्रेसका उम्मेदवारलाई हराउन भूमिका खेलेका यादव सत्ता गठबन्धनमै रहेको भए कांग्रेसको साथ पाउन कठिन हुने विश्लेषण गरिएको थियो। संयोग, उनको पार्टी जसपाले अन्तिम समयमा एमालेसँग तालमेल गरेपछि कित्ता नै फेरिन गएको हो।
स्वतन्त्र उम्मेदवार बनेका द्विवेदीले पार्टी छोडे पनि अधिकांश समर्थकले उनको साथ नछोडेका कारण उनी दुवै प्रतिस्पर्धीका लागि भारी देखिएको वीरगन्जका पुराना पत्रकार अनिल तिवारी बताउँछन्।
देशको प्रमुख व्यापारिक नाका भएको शहर वीरगन्जका ३२ वडामध्ये मुख्य शहरी क्षेत्रसमेतका १९ वटा वडा यस क्षेत्रमा पर्छन्। हरेक पटक नयाँ अनुहारलाई सांसद बनाउँदै आएको पर्सा-१ का मतदाताले यसपालि पनि त्यो रुझान कायमै राख्लान्? वीरगन्जको यसपालिको रुझान धेरैका लागि चासोको विषय बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
