सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशबाट उदाएर देखाइदिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताएका हुन्।

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे। “सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ? एउटा नेपाली कांग्रेस, अर्को एकीकृत समाजवादी छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ। ठूलो धक्का एमाले पार्टीलाई परेको छ। त्यो पहिलो शुरूआत हो“, उनले भने।

अध्यक्ष नेपालले एमालेका धेरै नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे। उनले एमालेले राष्ट्रपति बनाउने आश्वासन दिएका व्यक्तिलाई 'सेन्टीफ्ल्याट' खुवाइदिने बताए। “अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन्। किनभने दंग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को–को सेन्टीफ्ल्याट खाने हो थाहा छैन“, उनले भने।

त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताए। उनले नेपालमा दलाल पुँजीपति, शोषक, कमिसन खोर, भ्रष्टाचारी, मुनाफाखोरी र विदेशीका दलाल रहेको उल्लेख गरे। उनले यस्ता व्यक्ति नेपालीका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूका क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए। 

उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने धारणा राखे। उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए।