पोखराको लेकसाइडस्थित सेल्वज टावरमा लागेको आगो नियन्त्रणमा

आइतबार बिहान ७ बजे व्यवसायीसँगको समन्वयमा आगलागीबाट भएको क्षति विवरण संकलन गरिने एसपी केसीले जानकारी दिए।

काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका-५ हल्लनचोकनजिकै रहेको सेलवेजको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले लेकसाइडस्थित सेल्वज टावरमा लागेको आगो नियन्त्रणमा आएको बताए।

उनका अनुसार पोखरा विमानस्थल, पोखरा महानगरपालिका लगायतका दमकल र पानीका ट्यांकरको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको हो। आगलागी साढे चार बजेतिर शुरू भएको थियो भने साढे सात बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

मानवीय क्षति नभएको एसपी केसीको भनाइ छ। आगो लाग्नुको कारण खुलिसकेको छैन। प्रहरीले आगलागी भएको क्षेत्रलाई क्वारेनटिन गरेर राखेको छ। आइतबार बिहान ७ बजे व्यवसायीसँगको समन्वयमा क्षति विवरण संकलन गरिने एसपी केसीले जानकारी दिए।

उनका अनुसार अन्डरग्राउन्डबाट आगलागी शुरू भएकाले निभाउन समस्या भएको थियो। आगो नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइको थियो।

आगलागीबाट सपिङ सेन्टरमा रहेका केही पसलहरूमा क्षति पुगेको छ। उक्त सेन्टरमा १० वटाजति पसल रहेको उनको भनाइ छ। त्यस्तै, उक्त सेन्टरमा रहेका केही एटीएम मेसिनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटना कसरी भयो भन्नेबारे छानबिन थालिएको प्रहरीको भनाइ छ।