राजनीतिक चलखेलले कांग्रेस सरकार बाहिर बस्न बाध्य भयो : प्रकाशशरण महत

सरकारले जनता र देशको हितविपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने प्रवक्ता महतको भनाइ छ।

नुवाकोट– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए। उक्त अन्योलबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ।

“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ। त्यसको नेतृत्व कांग्रेसले गर्नेछ।”

 सरकारले जनता र देशको हित विपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ। “कम्युनिस्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारबाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ। त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ”, उनले भने।

पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवर्द्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए। समय समयमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै बजारको व्यवस्थापन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने नारामा शुक्रबारदेखि शुरू भएको सातौँ नुवाकोट महोत्सव फागुन १० सम्म सञ्चालन हुनेछ।