लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आइतबार शपथ

लुम्बिनीमा शनिबार नियुक्त भएका सात र पुस २७ गते नियुक्त भएका दुईसहित नौ जना मन्त्रीको कार्य विभाजन भएको छ।

काठमाडौँ– लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नौ जना मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरेका हुन्। 

शनिबार नियुक्ति भएका सात र पुस २७ गते विना विभागीय मन्त्री बनेका दुई जनाको कार्य विभाजन भएको हो। मन्त्रिपरिषद्‌मा एमालेबाट चार, माओवादी केन्द्रबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भए।

माओवादीका जोखबहादुर महराले आर्थिक मामिला, एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास, माओवादीका इन्द्रजित थारुले भौतिक पूर्वाधार, एमालेका विष्णुप्रसाद पन्थीले स्वास्थ्य र माओवादीकी कृष्णा केसीले आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यस्तै एमालेका दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएसँगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री बनेका थिए । यसैबीच मन्त्रीहरूको शपथ आइतबार दिउँसो एक बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।