आन्दोलन फिर्ता लिएर काममा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह घाइते भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। 

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूलाई नियमित काममा फर्कन आग्रह गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिई बिरामीको स्वास्थ्य उपचार सेवामा लाग्न आग्रह गरेको हो। माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले लाठीचार्ज गर्दा सिंह घाइते भएका थिए। 

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ। अस्पतालमा उपचारका लागि आउने दीर्घ रोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्य उपचारको नियमित काममा जुट्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अनुरोध गर्दछौँ।”

आन्दोलनका कारण आइतबार बिहानैदेखि देशभरका स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ।