नेप्से ६०.७७ अंकले घट्यो, ३ अर्बको कारोबार

आइतबार ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन सेयर बजार करिब ६१ अंकले घटेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन बजार परिसूचक नेप्से ६०.७७ अंकले घटेर २१२१.८६ अंकमा ओर्लिएको हो।

कारोबार भएकामध्ये ८ कम्पनीको सेयर बढ्दा २०७ को घट्यो। कारोबार भएका सबै १३ वटै उपसमूहहरू घटेका छन्। बैंकिङ उपसमूह २८.७३, विकास बैंक १४१.४९, वित्त ८६.७४, होटल तथा टुरिजम ९०.८७, जलविद्युत् १११.१९, जीवन बिमा ३५७.२६, उत्पादन तथा प्रशोधन उपसमूह २२०.७३ अंकले घटेको छ । 

आइतबार ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी,  ङादी ग्रुप, अपि पावर, अपर तामाकोशी अगाडि रहे।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लगानीकर्ताले १२ करोडको मार्जिन ऋणको सीमामा पुनरावलोकन गर्न माग गरेका थिए। तर,  सेयर धितो राखेर प्रवाह हुने ’मार्जिन कर्जा’को दरमा कुनै पनि हेरफेर भएन, जसको प्रभाव सेयर बजारमा परेको छ।