८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य पूरा हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्रमा संकट देखिएको बताए। 

तस्वीर : रासस

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेस गर्दै यस्तो बताएका हुन्।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने स्थिति नदेखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा नहुने देखिएको बताए।

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्रमा संकट देखिएको बताए। 

उनले राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुटाएको रकमसमेत नपुग भएको उल्लेख गरे। उनले सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले बताए। 

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको उल्लेख गरे। बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनको भनाइ छ।